९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतले सीमा खुला गरेसँगै भारतीयलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई चुनौती


0
Shares

काठमाडौं । भारतले कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँगमा सीमा खुला गरेको छ ।

सीमा खुला गरेसँगै नेपालतर्फ स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । सीमा खुला गरेसँगै नेपालतर्फ आउन खोज्ने भारतीयलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई चुनौती थपिएको छ ।

सीमा खुला भएलगत्तै वीरगञ्जस्थित सीमा नाकाबाट नेपाल आउन खोज्नेहरूलाई रोक्दा तनाव समेत उत्पन्न भएको छ ।

भारतीय गृह मन्त्रालयले औपचारिक रूपमै कात्तिक छ गतेदेखि नाका खुला गरेको छ । बिहारमा भइरहेको चरणबद्ध चुनावका क्रममा भने दुई दिन सिमाना बन्द गर्ने गरिएको छ ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भारतले सिमाना खुला गरिदिएपछि अन्य समयको तुलनामा हालको अवस्था फरक भएपछि थप सुरक्षाकर्मी तैनाथ गरेको बताउनुभयो ।

आवत जावत गर्नैपर्ने बाध्यतापूर्ण अवस्थाका मानिसहरूको निम्ति सरकारको मापदण्ड अनुसार प्रक्रियागत सहजिकरण गरिदिने गरेको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण दर घटेको देखिए पनि भारत विश्वमै सबैभन्दा धेरै मानिस संक्रमित भएको दोस्रो देश हो ।

यता गृह मन्त्रालयले पनि भारतसँगको सिमाना नाका बन्द रहेकाले नेपाली बाहेक अन्य देशका नागरिक आउन नपाउने जनाएको छ ।

सरकारले सिमाना अझै बन्द नै राखे पनि पर्सा जिल्लास्थित विभिन्न नाकाबाट मानिसहरूको ओहोरदोहोर हुने गरेको स्थानीयको भनाइ छ ।

लामो समयसम्म सीमानाका बन्द हुँदा पछिल्ला महिना भने दुवैतर्फ विभिन्न सामानहरू तस्करी हुने गरेका छन् ।

प्रमुख नाकाहरूमा सुरक्षा कडाइ गरिए पनि चाडपर्वको समयमा सीमावर्ती भारतीय बजारमा नेपालीहरूको किनमेल बाक्लिएको छ ।

विभिन्न काम लगायत व्यवसायका निम्ति भारतीयहरू पनि लुकीछिपी नेपाल आउने क्रम नरोकिएको स्थानीयको दावी छ ।