१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बहुमूल्य केशर खेतीमा इलामका कृषक आकर्षित, प्रतिकिलो १० लाख रुपैयाँ


13
Shares

इलाम, कात्तिक १७ । इलाममा केशर खेतीप्रति कृषकहरु आकर्षित हुँदै गएका छन् ।

प्रतिकिलो १० लाख रुपैयाँ पर्ने उच्च मूल्यको जडीबुटी केशर उत्पादन हुन थालेपछि कृषक उत्साहित भएका हुन् ।

खेतबारीमा केशर फूल्न थालेपछि इलामका कृषकहरु मक्ख देखिन्छन् ।

जौवारी मल्टी परपोज एग्रीकल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती सुरु गरी विस्तार गरेको छ ।

प्रदेश नम्बर –१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताउनुभयो ।

उच्च मूल्यको जडीबुटी केसर फुल्न थालेपछि इलामका किसान उत्साहित भएका छन् ।

लगातारको वर्षात्पछि गत सालभन्दा केही कम केशर फुलेको भएपनि माइजोगमाईको थुम्केडाँडामा केशर फुलेको हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति रहने गरेको छ ।

थोरै मात्रामा हिउँ र तुषारो पर्ने एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइ केशर खेतीका लागि उपयुक्त मानिन्छ ।

परीक्षणका रुपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने औंल्याइएको छ ।

केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूलभित्रको रातो लुर्का संकलन गरी सुकाएर बिक्री गर्ने गरिन्छ ।

करिब डेढ लाख सुगन्धित फूलबाटमात्र एक किलो केशर प्राप्त हुने गर्दछ ।

गत वर्षदेखि तयारी केशरलाई जौबारी मल्टी परपोज एग्रीकल्चर सेन्टरले प्याकेजिङ गरी बिक्री गरेको थियो ।

औषधिय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ । यसको चिया, जुस र अन्य पेयपदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या रहेको छैन ।

केशरको व्यावसायिक विस्तारका लागि तालिम र अनुसन्धानमूलक कार्यक्रम किसानसम्म पुग्न जरुरी देखिएको छ ।