१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


महिलाहरुसँग ‘कल’ गर्न मोबाइल माग्ने र लिएर भाग्ने समातिए


0
Shares

काठमाडौं, कात्तिक १७ । महानगरीय प्रहरी परिसरको टोलीले विभिन्न ठाउँमा मोबाइल लुटेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

साथै, लुटेको मोबाइल बिक्री गर्न सहयोग गर्ने अर्का एकजनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३४ वर्षीय इम्तियाज उद्दिनलाई मोबाइल लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो ।

यसैगरी, रामेछापको साँघुटार नगरपालिका–२ घर भइ काठमाडौं–१५ बस्ने ३४ वर्षीय शुलभ श्रेष्ठलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीले उनीहरुलाई सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका इम्तियाजले स्कुटरमा चढेर महँगो मोबाइल बोक्ने महिलाहरुसँग ‘कल’ गर्न मोबाइल माग्ने र मोबाइल लिएर भाग्ने गरेको पाइएको परिसर प्रमुख श्याम ज्ञवालीले बताउनुभयो ।

पक्राउ पर्नेहरुबाट प्रहरीले विभिन्न ‘ब्रान्ड’का केहीथान मोबाइल सेट र एकथान स्कुटर पनि बरामद गरेको छ ।