१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आहा ! क्या, मनमोहक सिम्ती झरना


26
Shares

चितवन । चितवनको शक्तिखोरमा रहेको झरनाले आसपासका सर्वसाधारणको ध्यान खिचेको छ ।

तराईको गर्मी छल्न र छुट्टी मनाउन जाने आन्तरिक पर्यटकको रोजाइमा परेको शक्तिखोर दोगरा नजिकैको झरना हेर्न जानेको संख्या बढ्दै गएकाले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको छ ।

झरनाको चिसो पानीमा झुम्न र रम्न कस्लाई पो मन नहोला र ? त्यसमा पनि तराईको गर्मी छल्न केही पहाड उक्लदै पुग्ने यस्तो मनोरम झर्नामा पुग्दा कसको पो मन पुल्लकीत नहोला ।

युगल जोडीका लागि त झन यस्ता स्थान मुख्य रोजाइमा पर्ने गरेका छन् । गर्मीलाई बिदाई गर्दैगर्दा पनि अहिले झर्नामा रमाउनेको घुइँचो नै देख्न सकिन्छ ।

कालिका नगरपालिकामा रहेको सिम्ती झरना हेर्नेको अहिले दोहोरीलत्त नै देख्न सकिन्छ ।

लामो समयको लकडाउन र कोरोनाबाट हुने डरका कारण घरभित्र बाधिएका स्थानीयहरु झरनामा पुगेर आनन्द लिइरहेका छन् ।

दशैंपछि ह्वात्तै बढेका आन्तरिक पर्यटक दैनिक पाँचसय जनासम्म झरनामा पुग्ने गरेको नगरप्रमुख खुमनारायण श्रेष्ठले बताउनुभयो ।

टाँडी बजारदेखि १८ किलोमिटरको दुरीमा शक्तिखोर हुँदै दोगराबाट साँढे दुई किलोमिटरको उकालो ओारालो पैदलपछि सो स्थानमा पुग्न सकिन्छ ।

नव विवाहित जोडीदेखि प्रेमीप्रेमिका र परिवारकै सदस्यहरु मिलेर झरनामा पुग्ने लहड नै चलेको छ । केही समयको हिडाइले थकाइ लागेपनि झरनामा झुम्न पाउँदा भने मक्ख देखिन्छन् ।

बाटोमा रहेका पसल संचालकहरु पनि व्यापार गर्न पाउँदा दंग छन् भने होटल रेष्टुरेण्टहरुले पनि लकडाउन पछिकै राम्रो आम्दानी लिन पाउँदा खुशी छन् ।

लकडाउन अघि ज्याला मजदुरीमा काम गर्ने लक्ष्मण प्रजा पनि पसलबाट राम्रै आम्दानी गर्न थालेपछि मक्ख छन् ।

आन्तरिक पर्यटक बढेसँगै यो झरनामा विदेशी पर्यटकलाई ल्याउनका लागि नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई जोड दिएको छ ।

झरना हेर्न जानेको संख्या बढ्दै जान थालेपछी अहिले बाटोमा शौचालय, खानेपानी, विद्युत, मोवाइलको टावर र फोहोर व्यवस्थापनका काम थालिएको छ ।

शौचालय र कपडा फेर्ने घरको निर्माण कार्य सकिन लागेको छ भने पार्किङ, टिकट घरसहित अन्य संरचना निर्माणका लागि काम सुरु भइसकेको प्रमुख श्रेष्ठको भनाइ छ ।

नगरको गहनाको रुपमा रहेको मनोरम सिम्ती झरनाको थप विकास र प्रचारप्रसारका लागि पूर्वाधारण निर्माणमा कुनै कमी नगरिने नगरपालिकाले जनाएको छ ।

पर्यटकीय नगरी चितवन आफैमा सुन्दर छ । हरेक स्थानीय तहमा भएका यस्तै गहनाको संरक्षण र प्रवद्र्धन गर्दै जाने हो भने आम्दानीको बाटो त बन्छ नै, रोजगारीको सृजनासहित आन्तरिक तथा बाह्य पर्यटकलाईसमेत आकर्षित गर्न सकिने थियो ।