
काठमाडौं, कात्तिक १८ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक्न दिएको निर्देशनप्रति साझा पार्टीले आपत्ति जनाएको छ ।
कोरोनाकालमा रोजगारविहीन असहायहरुलाई केही परोपकारी समूहहरुले खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएका थिए ।
तर, सोमबार महानगरले सो कार्य रोक्न निर्देशन दिएपछि साझा पार्टीले विरोध जनाएको हो ।
‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्दथ्यो’–सो पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ–‘तर, उल्टो नागरिकस्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो ।’
सरकारको उक्त कदमको विरोध जनाउन बुधबार (भोलि) बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले व्यहोर्ने जनाइएको छ ।
साझा पार्टीका स्वयंसेवीहरू पनि उक्त खाना खुवाउने कार्यमा सहभागी हुने पार्टीले जनाएको छ ।
‘शान्तिपूर्णरूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौं, कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’–विज्ञप्तिमा उल्लेख छ ।
साझा पार्टीले त्यस्ता परोपकारी समूहहरुलाई सहयोग गर्न अपिलसमेत गरेको छ ।
‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’–विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्