२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उपत्यकाको ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि एकीकृत कार्ययोजना तयार


0
Shares

काठमाडौं, कात्तिक १८ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार भएको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी मंगलबार गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो ।

उपत्यकाको सवारी जाम कम गर्न तत्काल सडक विस्तार गर्नुपर्ने, फराकिलो बनाउनुपर्ने, सडक किनारमा रहेका वर्कसप तथा कलकारखानालाई स्थानान्तरण गर्नुपर्नेलगायतका सुझाव कार्ययोजनामा समेटिएका छन् ।

तत्काल गौरीघाट प्रहरी बिटको पर्खाल भत्काइ सडक पराकिलो पार्नुपर्ने, जडीबुटी पुल र राधे राधे पुलको बाँकी काम तत्काल सम्पन्न गर्नुपर्ने, जडीबुटी–सूर्यविनायकसम्म सर्भिस लेनको बाँकी ट्रयाक खोल्ने र मर्मत–सम्भार गर्नेलगायतका काम गरी सर्भिस लेन सञ्चालन गर्नुपर्ने र कोटेश्वर चोकदेखि जडीबुटी पुलसम्म दुवैतर्फको सर्भिस लेन छिटो खोल्नुपर्ने विषय कार्ययोजनामा समेटिएका छन् ।

यस्तै, दीर्घकालीनरुपमा उपत्यकाका अन्य साँघुरा, सवारी चाप हुने सडक र साँघुरा चोक जङ्सनहरुको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खन्ड विस्तारका लागि योजना बनाइ सम्पन्न गर्नुपर्ने योजना पनि कार्ययोजनामा समेटिएका महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

यस्तै, बाहिरी चक्रपथको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने, नागढुंगा–सिस्नेखोला टनेल, टोखा–छहरे टनेल योजना समयमै सम्पन्न गर्नुपर्ने योजनामा पनि समेटिएको छ ।