
काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नुभएको छ ।
भारतीय वायु सेनाको विमानमार्फत उहाँ बुधबार काठमाडौं आइपुग्नुभएको हो । नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।
भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम रहेको छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद उत्कर्षमा छ ।
भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिनुभएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो ।
त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा संवाद नभइरहेका बेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्