१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्यान हत्केलामा राखेर लड्यौं तर हामीले चाहेको लोकतन्त्र यो थिएन : मदनकृष्ण


13
Shares

काठमाडौं, कात्तिक १९ । ललितपुर महानगरपालिकाको वडा नम्बर–२७, सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलन गरिरहेका छन् ।

ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएरपनि काम नगरेको स्थानीयको आरोप छ ।

त्यहाँका स्थानीय एवं वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभयो ।

सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर बिरामी हुने अवस्थासम्म पुग्दा पनि काम नभएको उल्लेख गर्दै उहाँले ‘देश कहाँ छ ?’ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो–‘लोकतन्त्रका लागि ज्यान हत्केलामा राखेर लड्यौं । तर, हामीले चाहेको लोकतन्त्र यो थिएन । हामीले चाहेको एउटा र अहिलेको लोकतन्त्र फरक छ । सरकार नै कसको हातमा छ भन्ने थाहा छैन ।’

स्थानीयहरुले पनि सडक कालोपत्रे नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

विकास निर्माणको काम अवरोध गर्नेलाई राजनीतिक संरक्षण गर्दा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ ।

अबिर लगाएर प्रतिनिधि बनाएकाहरुलाई जनताका समस्या नबुझे धुलो लगाउन पनि पछि नपर्ने स्थानीयहरुको भनाइ छ ।

अहिले आठ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्नपनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता भइसकेको छ ।

सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीयले पटक–पटक अनुरोध गर्दै पटक–पटक विरोध प्रदर्शन गर्दा पनि काम हुन सकेको छैन ।