
वासिङ्टन, कात्तिक १९ । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत् मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले प्रतिक्रिया दिनुभएको छ ।
चुनावी मैदानमा रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिनुभएको छ भने अर्का प्रतिस्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गर्नुभएको छ ।
मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरुमार्फत् उहाँहरुले अन्तिम नतिजा आफ्नो पक्षमा पर्ने दाबी पनि गर्नुभएको छ ।
नेपालको समयअनुसार मंगलबार बेलुकादेखि सुरु भएको मतदान राति अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना सुरु भएको थियो ।
अहिले विभिन्न राज्यका मतगणनाका परिणामहरु आउनेक्रम जारी छ ।
नयाँ प्रक्षेपणअनुसार महत्वपूर्ण मानिएको फ्लोरिडामा ट्रम्प विजयी हुनुभएको छ । कुल २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा अघिल्लो निर्वाचनमा पनि ट्रम्पले नै जित्नुभएको थियो ।
त्यसअघि, सन् २००८ र २०१२ को निर्वाचनमा भने डेमोर्क्याटतर्फका उम्मेदवार बाराक ओबामा विजयी हुनुभएको थियो ।
नेब्रास्कामा पनि ट्रम्पले नै जित्ने अनुमान गरिएको छ । त्यहाँ पाँच इलेक्टोरल मतमध्ये चार ट्रम्पलाई र एक बाइडेनलाई आउने देखिएको छ । यसअघि, सबै ट्रम्पलाई नै गएकोमा अहिले बाइडेनले एक मत खोस्ने देखिएको हो ।
कुल १८ इलेक्टोरल मत रहेको ओहायो र चार मत रहेको आइडहोमा ट्रम्पले जित्ने र १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडेनले जित्ने प्रक्षेपण गरिएको छ ।
यी सबै राज्यमा अघिल्लो निर्वाचनमा जस्तो नतिजा आएको थियो, अहिलेपनि उस्तै नतिजा आउने देखिएको छ ।
प्रत्यक्ष मतदान मंगलबार भएपनि सोमबारसम्म हुलाकबाट झन्डै नौ करोड अमेरिकी नागरिकले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत् लाखौं मतदाताले मतदान गर्दछन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यसपटक कोरोनाभाइरस महामारीलाई लिएर झन्डै नौ करोडले हुलाकमार्फत् मतदान गरेका हुन् ।
हुलाकमार्फत् पठाइएका मत आउनेक्रममा रहेको र गणना गर्न समय लाग्ने भएकाले अन्तिम नतिजा आउन केही दिन लाग्नसक्ने बताइएको छ ।
अमेरिकामा इलेक्टोरल कलेज अर्थात् निर्वाचक मन्डल प्रणालीअन्तर्गत् राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसंख्याका आधारमा इलोक्टरल मत तोकिएको हुन्छ ।
यो प्रणालीअन्तर्गत् निर्वाचक मन्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत जित्नुपर्दछ ।
अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोर्क्याटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ ।
परम्परावादीतर्फका ट्रम्प ७४ वर्ष र उदारवादीतर्फका बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बूढा नेतालाई नै पर्ने भएको छ ।
बाइडेनले निकै सरलरूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोनाभाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाउनुभएको थियो भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामकरूपमा प्रस्तुत हुनुभएको थियो ।
चुनावी सर्वेक्षणहरुमा डेमोर्क्याटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दाबी गरिएको थियो ।
अमेरिकी राष्ट्रपतिको काम–कारबाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ ।
सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् ।
यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापीरूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि कुल मतदानमा हिलारी क्लिन्टनले धेरै पाएपनि इलेक्टोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी, त्यतिबेला अधिकांश सर्वेक्षण र सञ्चारमाध्यमहरुले हिलारी नै विजयी हुने प्रक्षेपण गरेका थिए ।
अमेरिकामा हरेक चार/चार वर्षमा नोभेम्बर ३ तारिखका दिन निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिकरूपमा जनवरीमा २० तारिखमा शपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्