१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन


0
Shares

काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ ।

कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् ।

कांग्रेसको कोभिड अनुगमन समितिका संयोजकसमेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आमनागरिकको समस्या नबुझेको बताउनुभयो ।

बुधबार अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुग्नुभएका महतले महानगरपालिका आफैंले राहात पुर्‍याउनुपर्ने ठाउँमा दाताहरुले सहयोग गरेपनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य नहुने बताउनुभयो ।

कांग्रेस नेता भीमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार रुपैयाँ नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताउनुभयो ।

संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उहाँले बताउनुभयो ।

हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताउनुभयो ।

तिहारपछि होटल बुकिङ गरेर भएपनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पत्रकार सम्मेलन नै गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न आग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताउनुभएको थियो ।

सक्नेले श्रम गर्नुपर्ने र नसक्नेहरुलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उहाँले पत्रकार सम्मेलनमा बताउनुभएको थियो ।