१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैँडाको माउ र बच्चा मृत फेला, तस्करले मारेको आशंका


0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् ।

निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उहाँले बताउनुभयो ।

मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको सूचना अधिकारी रामले बताउनुभयो ।

उहाँका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै छ ।

यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । नौ वटा गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ ।

सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँडा रहेका छन् ।