
वासिङ्टन, कात्तिक २० । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नुभएको छ ।
डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुवै राज्यमा चार वर्षअघि राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको थियो ।
मिचिगन र विस्कन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।
अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुवै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।
पछिल्लो मत परिणामअनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ र उहाँ विजयको नजिक हुनुहुन्छ ।
बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसक्नुभएको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनैपनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।
पछिल्लो चुनावी अवस्थाकाबारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ‘ब्रिफिङ’ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताउनुभयो । तर, उहाँले आफू विजयी भएको घोषणा गर्न चाहनुभएन ।
उहाँले भन्नुभयो–‘म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा नीलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केवल संयुक्तराज्य अमेरिका हुनेछ ।’
राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गर्नुभएको थियो । जसलाई स्वयं रिपब्लिकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए ।
विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोटमात्र आवश्यक रहेको छ ।
निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्