
काठमाडौं, कात्तिक २० । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले श्रीराम सुगर मिल्सबाट उत्पन्न समस्याको समाधान एक महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
मिल्सले किसानबाट उखु खरिद गरी करोडौं रुपैयाँ भुक्तानी दिएको छैन ।
त्यस्तै, आठ–दश महिनायता उद्योग बन्द गरी मजदुरकोसमेत मारिश्रमिक दिएको छैन ।
बैठकपछि पत्रकारसँग कुराकानी गर्दै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग मन्त्रालयले एक महिनाभित्र सबै निकायसँग समन्वय गरी समस्याको निकास दिइ समितिलाई जानकारी दिन निर्देशन दिइएको बताउनुभयो ।
यस्तै, चाडपर्वको समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदुरहरुलाई तत्काल राहतस्वरुप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको सभापति श्रीवास्तवले बताउनुभयो ।
श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरेको भुक्तानी नदिइ गत साउन ११ गते सूचना प्रकाशन गरी उद्योग ‘सधैंको लागि बन्द’ भएको जानकारी गराएको थियो । त्यससँगै किसानहरुले पाउनुपर्ने करिब ४१ करोड रुपैयाँ पाउन सकेका छैनन् ।
यस्तै, श्रमिक तथा कर्मचारीले पनि छ/सात महिनाको तलब, भत्ता र कर्मचारी सञ्चयकोषमा रहेको करिब चार करोड रुपैयाँ पाएका छैनन् ।
चिनी मिलसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछिमात्रै भुक्तानी दिने जवाफ आएको भन्दै किसानहरु अन्योलमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्