१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो एक लाख मास्क


0
Shares

काठमाडौं, कात्तिक २० । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ ।

नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जंगीअड्डामा बिहीबार आयोजित कार्यक्रममा ती स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभयो ।

नेपाल–भारत सुरक्षा सहयोग आदान–प्रदानसम्बन्धी १३औं बैठकमा भएको सहमतिअनुरुप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो ।

हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स, चार आइसीयू भेन्टिलेटर, एक्सरे मेसिन, कम्युटर रेडियोग्राफ्री प्रणाली, भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेयिया मेसिन र प्रयोगशालासम्बन्धी उपकरण रहेको बताइएको छ ।

भारतीय सेनालाई बुद्धको प्रतिमा र मास्क
सो अवसरमा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाखथान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ ।

उक्त मास्क प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई हस्तान्तरण गर्नुभयो ।

प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहारस्वरुप शान्तिका प्रतीक गौतमबुद्धको प्रतिमासमेत प्रदान गर्नुभयो ।

यसअघि, स्थलसेनाध्यक्ष नरवणेले सैनिकमञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहारसहित श्रद्धाञ्जलि अर्पण गर्नाका साथै जंगीअड्डा परिसरमा ओखरको बिरुवा रोप्नुभयो ।

भेटवार्ता
त्यसलगत्तै, प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो ।

उक्त भेटमा दुवै सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ ।

उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाकाबारेमा प्रस्तुतीकरण गरिएको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई बिहीबारै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ ।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औं सेनापति हुनुहुन्छ ।