२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओलीको बोलीले तरंग


0
Shares

काठमाडौं, कात्तिक २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद र अन्तरविरोध चर्कंदै गएका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आफू कुनैपनि हालतमा राजीनामा नदिने अभिव्यक्तिले पार्टीभित्रमात्र नभइ बाहिरसमेत तरंग पैदा गरेको छ ।

पछिल्लो समय नेकपाभित्रको विवादमा पार्टीभित्र र बाहिरबाटै पनि ओलीको राजीनामाको प्रसंग नउठेका बेला प्रधानमन्त्री ओलीबाट एकाएक यस्तो अभिव्यक्ति आउनु औचित्यहीन भएको राजनीतिक विश्लेषकहरुको तर्क छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र कर्णाली प्रदेशको विवादलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद चर्किएको र समाधानका लागि ठोस संवाद हुन नसकेको अवस्थामा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक गैरराजनीतिक कार्यक्रममा बोल्दै कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने अभिव्यक्ति दिनुभयो ।

नेकपाभित्र बल्झिएको विवाद समाधानका लागि अध्यक्ष दाहालले ओलीसँग बैठकको माग गरेपनि ओलीले बैठकको औचित्य नरहेको बताएर अस्वीकार गर्दै आउनुभएको छ ।

आफूविरुद्धका जुनसुकै कदममा कडा ‘स्टेप’ चाल्ने चेतावनी दिएपछि अचानक ओलीबाट आफूविरुद्ध राजीनामाको तयारी भइरहेको अभिव्यक्ति आएको हो ।

सो अवसरमा उहाँले राजीनामाको माग कसले गर्‍यो भन्ने खुलासा गर्नुभएन ।

तर, बिहीबार भने उहाँले मन्त्रिपरिषद्को बैठकमा ‘सरकारलाई चौतर्फी हमला भएको र मुलुक गम्भीर मोडमा पुगेको’ मन्त्रीहरुलाई ‘बिफ्रिङ’ गर्नुभयो । मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावदेखि राजदूत नियुक्ति र ओलीबाटै ‘सल्लाहमा पार्टी फुटाऊँ’ भन्ने प्रस्तावले अध्यक्षद्वयबीचको सम्बन्ध चिसिएकै अवस्थामा ओलीको पछिल्लो अभिव्यक्तिले विवाद झनै बढाएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले आफूलाई ‘भारतले पदबाट हटाउन खोजेको र यसमा नेपालकै नेताहरुको संलग्नता रहेको’ आरोप लगाएपछि पार्टीमा राजीनामाको बहस चर्किएको थियो ।

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद्को पुनर्गठन र चैतमा महाधिवेशन गर्न तत्काल तयारी थाल्नुपर्ने निर्णय गरेको थियो ।

तर, निर्णयहरु कार्यान्वयनमा सिन्कोसमेत नभाँचेको ओलीइतर खेमाबाटै आरोप लगाइएको अवस्थामा प्रधानमन्त्री ओलीले दिनुभएको अभिव्यक्तिको कुनै सन्दर्भ नभएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको टिप्पणी छ ।

सत्तारुढ दल नेकपाभित्र विवाद र अन्तरविरोध चर्कंदै गएका बेला प्रसंग नै पुष्टि नहुने गरी यसअघि पनि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले दिनुभएका यस्ता अभिव्यक्तिहरुले मूल मुद्दाहरु नै ओझेलमा पार्दै विषयान्तर हुँदै आएका छन् ।

दाहाललाई ‘सहमतिमै पार्टी फुटाऔं’ भन्ने ओलीको अभिव्यक्तिसँगै फुटको संघारमा पुगेको नेकपामा ओलीको पछिल्लो राजीनामा मागका सन्दर्भको टिप्पणीले नेकपा नेतृत्वमा अविश्वास बढ्दै गएको देखिन्छ ।

भिडियो हेर्नुहोस्