७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ट्रम्पका मुख्य सहयोगी मेडोजलाई पनि कोरोना संक्रमण


0
Shares

वासिङ्टन, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ ।

कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उहाँनिकट स्रोतहरुले पनि उहाँ संक्रमित हुनुभएको जनाएका छन् ।

उहाँसहित अरुपनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोनाभाइरसबाट संक्रमित भएको शुक्रबार पुष्टि गरिएको छ ।

अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

कोरोनाभाइरसका कारण मृत्यु भएका र संक्रमित भएकाहरुको संख्या अमेरिकामा सबैभन्दा धेरै रहेको छ ।

राष्ट्रपति पदका लागि अहिले उम्मेदवारसमेत रहनुभएका ट्रम्पका मुख्य सहयोगी नै संक्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन ।

मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा जानुभएको थियो । त्यतिबेला उहाँले मास्कसमेत प्रयोग गर्नुभएको थिएन । त्यसैले उहाँबाट धेरैजना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।

उहाँ मतगणनास्थलहरुमा पनि मास्कविना जाने गर्नुभएकोले उहाँले धेरैलाई सारेको हुनसक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन् ।

यसअघि, राष्ट्रपति ट्रम्प संक्रमित हुँदा पनि उहाँलाई सबैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहनुभएको थियो । ट्रम्पले कोरोनाभाइरसलाई सामान्यीकरण गर्दै आउनुभएको छ ।

अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित हुने गरेका छन् । अहिलेसम्म ९७ लाखभन्दा बढी संक्रमित भएका छन् ।