
तनहुँ, कात्तिक २२ । पछिल्लो समय तनहुँको सदरमुकाम दमौलीसम्मुख रहेको मानहुँकोट आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
कोरोना महामारीका बीच पनि पर्यटकहरु सूर्योदयको मनमोहक दृश्य र वरपरका लोभलाग्दो दृश्यावलोकनका लागि मानहुँकोट पुग्ने गरेका छन् ।
व्यास नगरपालिका–५, मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पछिल्लो समय मानहुँकोट पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
एकातिर पर्यटकको संख्यामा वृद्धि आएको छ भने अर्कोतर्फ कोभिड–१९ को जोखिम पनि उत्तिकै बढेको छ ।
सामाजिक सञ्जाल टिकटकका कारण ‘भाइरल’ बनेको मानहुँकोटमा दैनिक एक हजारभन्दा बढी पर्यटकहरु आउन थालेका छन् । शनिबार भने पाँच हजारको हारहारीमा पर्यटकहरु घुम्न आएका थिए ।
मानहुँकोटबाट सूर्योदयको दृश्यवलोकन निकै राम्रो देखिने भएपनि भिडभाडका कारण कोरोनाको जोखिम बढेको छ ।
टिकटक तथा सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेर घुम्न आएको पोखराका कृष्णबहादुर खत्रीको भनाइ छ ।
सदरमुकाम दमौलीदेखि आधा घन्टाको दुरीमा रहेको मानहुँकोटमा सूर्योदयको अवलोकन गर्न र टिकटक बनाउनेको भिड लाग्न थालेको छ । सूर्योदय हेर्नका लागि झिसमिसेमै पर्यटकहरु मानहुँकोट पुग्ने गर्दछन् ।
पर्यटकले मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री प्रयोग नगर्दा कोरोनाको जोखिम बढ्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
मानहुँकोटको बारेमा टिकटकमा देखर घुम्न आएको र ठाउँ पनि रमाइलो लागेको अर्का पर्यटक रवीन्द्र खत्री बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारको समयमा देउसीभैलो खेल्न रोक लगाएको छ भने भिडभाड नगर्न आग्रह गरेको छ । तर, सदरमुकामनजिकै रहेको मानहुँकोटमा दिनहुँ भिडभाड बढेको छ ।
शनिबार यहाँ पाँच हजारभन्दा बढीको संख्यामा पर्यटकहरु भिात्रिएका छन् ।
यता, जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भिडभाड नगर्न निर्देशन गरेको मानहुँकोटमा भने मेला नै लागेको छ ।
मानहुँकोटमा भएको भिडभाडको विषयमा प्रशासनलाई जानकारी भएको कारणले सम्बन्धित स्थानीय तहसँग सल्लाह गरेर भिड व्यवस्थापन गरिने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल बताउनुहुन्छ ।
विभिन्न जिल्लाबाट आउने पर्यटकहरुले न मास्क प्रयोग गरको पाइएको छ, न त आत्यावश्यक मापदन्ड अपनाएको । जसले गर्दा तनहुँ कोरोनाको ‘हटस्पट’ बन्ने जोखिम बढेको छ ।
दैनिक ३०/४० जनाको हाराहारीमा तनहुँमा कोरोना संक्रमित थपिँदै गएका छन् । तर, मानहुँकोटमा देखिएको भिडले भने मेला लागेको अनुभूति गराएको छ ।
त्यसैले बेलैमा सम्बन्धित निकायले मनहुँकोटमा देखिएको भिडको विषयमा गम्भीर नभए तनहुँ कोरोनाको हटस्पट नबन्ला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्