
काठमाडौं, कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यले केन्द्रीय सचिवालय बैठक सहमतिमै डाक्न लिखित आग्रह गरेपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भने असहमति कायमै छ ।
अनौपचारिक बैठकका नाममा गुटगत भेला गरेर आफूविरुद्ध घेराबन्दी गर्नेहरुलाई बैठकको औचित्य नभएको ओलीको अभिव्यक्तिपछि दाहाल–नेपाल समूहले बैठक डाक्न दुई–तीन दिनको समय कुर्ने भएका छन् ।
बैठक नबोलाउने ओलीको अडान र उहाँलाई गलाउने इतर समूहको रणनीतिकाबीच सचिवालय बैठक भने अझै अन्योलमा छ ।
नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेपछि पार्टी एकतालाई बचाउन भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आलटाल गरिरहेको आरोप लगाएका पाँचजना सचिवालय सदस्यको अनौपचारिक बैठक शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बस्यो ।
विगतमा खुमलटारमा छलफल गर्दै आएका उनीहरुको धुम्बाराहीको बैठकले सचिवालयमा को–कता भन्ने कित्ता त स्पष्ट पार्यो नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबाटै सचिवालयका चार सदस्यहरूलाई गरिएको ‘ब्रिफिङ’मा ओलीले ‘नेकपामा अहिले गुटमात्रै रहेकाले आ–आफ्नो गुटको बैठक गरे भइहाल्यो नि !’ भन्ने अभिव्यक्ति दिएको सार्वजनिक भयो ।
शुक्रबारको अनौपचारिक छलफलबारे दाहालले ओलीलाई जानकारी गराएको भनिएपनि उक्त छलफलले ओली–दाहालबीच झन् तिक्तता बढाएको कुरा त तब स्पष्ट भयो, जब बैठकको लिखित माग गर्दै शनिबार बालुवाटार पुगेका पाँच सदस्यलाई ओलीले ‘गुटबन्दी गर्दै हिँडेकालाई केका लागि बैठक ?’ भन्दै प्रतिप्रश्न गर्नुभयो ।
बैठकको आग्रहका लागि बालुवाटार पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्काचर्कीपछि बैठक बोलाउन असन्तुष्ट हुनुभएका ओलीले बैठक बोलाउनेमा शंका उब्जिएको छ ।
त्यसो त नेकपा पार्टी विधानले सचिवालय बैठक आवश्यकताअनुसार बस्ने स्पष्ट व्यवस्था गरेको छ ।
तर, अध्यक्ष ओलीले अहिले बैठकको आवश्यकता नै नरहेको बारम्बार दोहोर्याइरहनुभएको छ भने ओलीइतर समूहले पछिल्लो स्थायी समिति बैठकले गरेका निर्णयको कार्यान्वयनका लागि बैठक अपरिहार्य रहेको जिकिर गरेको छ ।
त्यसो त ओलीले बैठक नबोलाउँदा इतर पक्षले कार्यकारी अध्यक्ष दाहालको नेतृत्वमा बैठक बोलाउन कति सामर्थ्य राख्छ भन्ने प्रश्न पनि पेचिलो बन्दै गएको छ ।
तर, धुम्बाराही बैठकले दाहालले बैठक बोलाउन सक्ने भएपनि पार्टी एकता जोगाएर अघि बढ्न सहमतिकै आधारमा बैठक बोलाएर अघि बढ्न उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
यो परिस्थितिकाबीच दाहाल–नेपाल समूहले एकातिर ठोस कदम चाल्न असमर्थ देखिन्छ भने अर्कातिर ओलीले चाल्ने कदमप्रति पनि उत्तिकै सशंकित देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्