१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोली नभएको बन्दुक बोक्ने दर्ज्यानी चिन्ह : प्रचण्डको ‘कार्यकारी अध्यक्ष’


0
Shares

-संजिव कार्की

प्रचण्ड राप र ताप अहिले बेहालमा छ । कुनै समयमा प्रचण्ड नामै काफि थियो । अर्थात माओवादीको घरमा पालेको कुकुर भनेपनि जनमानसमा डरको लेवल व्हात्तै बढेर आउँथ्यो । कसैले प्रतिवाद गर्ने आँट गर्न सक्तैनथे । डर, भय र आतंकको मनोविज्ञानले माओवादी मैमत्त थियो राज्य यति कम्जोर र निकम्मा थियो कि वाईसीएल सबै नियम कानुन आफ्नो हातमा राखेर देशको उद्योगी, ब्यापारी र अन्य पहुँचवाला राजनीतिक कार्यकर्ता काठमाडौंमा दिनदहाडै अपहरीत बन्थे । खुलामन्च टुंडिखेलमा माओवादीको बन्धक बनेर कालोमोसो दलिएर निर्घात कुटिने, अपमानित हुने र आर्थिक दण्डको शिकार बन्थे ।

राज्यको सुरक्षा निकायको हबिगत हेर्न लायक थियो । प्रचण्ड आव्हानमा नेकपा माओवादीका कार्यकर्ता सैनिक मन्चमा परेड खेल्थे जुन मंच राज्यको आधिकारिक कार्यक्रम र सैनिकको प्रयोजन भन्दा बाहेकको लागि निषेध थियो । तर माओवादीहरू त्यो निषेध भित्र पर्दैनथे । उदण्डता र दण्डहीनताको पराकाष्ट नाघेको थियो । माओवादी वाइसीयल यति उग्र र कानुन भन्दा माथि देशको राजधानी काठमाडौंमा थियो भने देशको कुनाकाप्चामा के अवस्था थियो होला ? माओवादी ज्यादतिका भुक्तभोगीहरुलाई सबै थाहाछ । यद्दपि बोल्ने र प्रतिकार गर्ने अवस्था थिएन । मारिनु पिटिनु, अंगभंग बनाइनु र अनेकन आर्थिक दण्ड तिराइमा पर्नु सामान्य नागरिकदेखि माओवादी इतर सबैको नियति थियो । चुप रहे सहे बाचिन्छ भनेर पनि चुप लागेर ज्यान जोगाउने पशस्तै थिए ।

संयुक्त जनआन्दोलन सकिएर राजालाई अधिकार बिहीन बनाएर कुनामा राखिएको स्थिति थियो । जनआन्दोलन संयुक्त रुपमा तत्कालिन सात पार्टी र माओवादीले मिलेर गरेका र सफल पारेका थिए तर सबै हैकम सबै नियम कानुनको धज्जी उडाउन माओवादी स्वतन्त्र थियो । शान्ति प्रक्रियामा आएको र देश संक्रमणकालीन अवस्थामा भएको भनेर माओवादी उदण्डतालाई सहने र क्षमा दिने तत्कालिन राज्यको अघोषित नीति नै थियो क्यारे । नत्र भने माओवादी ज्यादतीको शिकार राज्यसंयन्त्र नै बन्नुपर्ने थिएन । सुरक्षा निकाय प्रहरी सैनिककै अघि माओवादी जनअदालत खडा गरेर आरोप लाउने, फैसला गर्ने र दण्ड दिने काम गर्थे । जसको फलस्वरूप सीताराम प्रसाईं भन्ने एक उद्योगीलाई माओवादीले राज्यको मुटु खुल्ला मन्चमा लगेर दिउँसै हजारौ मान्छेको बीच दुर्व्यबहार गरेको थियो ।

यसरी राज्यको मुटुमा नै नियम कानुनको धज्जी उडाएर मानवाधिकार उलंघन गरेको घटनाले दिक्क भएर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वाईसीएललाई योंग कम्युनिस्ट लिग होइन ‘योंग क्रिमिनल लिग’ भनेर माओवादीको प्रतिकार गर्न शुरु गरेका थिए । तत्कालिन नेकपाले वाईसीएललाई काउन्टर दिन युथ फोर्स नामक लडाकु दस्ता नै बनाएर ओलीको निर्देशनमा वाइसीयल तह लगाउने अभियान चलाएका थियो । त्यो बेलाको माओवादी र प्रचण्ड नाम नै काफि थियो । इशारा नै सबथोक थियो । समय एकैनास कहाँ रहन्छ र ? २०६४ को संबिधान सभामा १२० सिट जितेर सबभन्दा ठूलो पार्टी बनेको नेकपा माओवादी २०७० को संबिधानसभामा आइपुग्दा जम्मा ३३ सिट जित्ने अवस्थामा खुम्चिन पुग्यो । आखिर यो सब किन भयो त ? त्यतिमात्र कहाँ हो र ? आफ्नो प्रमुख प्रतिद्वन्दी घोषणा गरेको नेकपासँग पार्टी विलय गरेर २०७४ सालबाट नेकपा माओवादी बिसर्जन र विलय बन्यो । आफ्नै पूर्व लडाकुको हातबाट प्रचण्ड पिटिन पुगे । सडक,सार्वजनिक स्थल बाटो प्रचण्डको लागि असुरक्षित बन्यो त्यो क्रम आज पर्यन्त छ ।

जसको कारण करिब सय जनाको सुरक्षा घेरामा प्रचण्ड रहनुपर्ने बाध्यता छ मोहन बैद्य, बाबुराम भट्टराई अनि नेत्र बिक्रम चन्दहरु प्रचण्ड हैकम र अधिनायकवादबाट छुट्दै गए । आफ्ना हस्ती र विश्वासिला सारथी गुमाउँदै अस्तित्व संकटमा परेका प्रचण्ड कहिले कांग्रेसको प्यारो बन्न गए त कहिले नेकपासँग चुनावी मोर्चा हुँदै पार्टी एकीकरण भनौ सिद्दान्त बिसर्जनसम्म १२ वर्षको खुला अबधि, जनताको म्यान्डेट लिएर जितहार गर्ने सत्तामा जाने ओर्लने राजनीतिमा प्रचण्ड कति काबिल भए कति चुके त्यो इतिहासको निर्मम समीक्षाको विषय हो । त्यो प्रचण्ड तेज ताप आज अर्काको दैलो ढुकेर बस्ने प्रचण्ड , पार्टी छोडेर जाउ भन्दा पनि आँट गर्न नसकेको हुत्ती नभएको प्रचण्ड बन्नुमा कुन तत्व र फ्याक्टरले काम गर्यो ?

समयको रापलाई आफ्नो बसमा पार्न नसक्दा हुने खति र क्षतिको राम्रो उदाहरण हुन् प्रचण्ड । नेकपाको दोश्रो दर्जाको अध्यक्ष हुँदा मक्ख परेका प्रचण्ड कार्यकारीको पदावली , विशेषण र दर्जामा पनि मख्ख थिए । दुर्भाग्य उनको कार्यकारीको हैसियत र पहुँच ओलीले कति राम्रोसँग देखाई दिएका छन् । म कार्यकारी अध्यक्ष अब सत्तामा जान्न बरु पार्टी चलाउछु भनेर कुम नचाउने प्रचण्ड आज सचिवालयको बैठक बोलाउन नसक्ने हैसियतका बने । आफ्नो गुटको भेला समेत अनौपचारिक भनेर भन्ने टिठलाग्दो अवस्थामा भन्नुपर्ने र पार्टीको बैठक माग्न ओलीको दैलोमा लाम लागेर जानुपर्ने बिडम्बनापूर्ण स्थिति कति दया लाग्दो छ ? यो दया लाग्दो स्थितिको अन्तर्य प्रधानमन्त्री ओलीको बलियो बनेको स्वास्थ्यको कारण नहोला भन्न सकिन्न ।

प्रचण्ड जस्ता हत्या र हिंसाको राजनीति नै सबथोक भनेर आएका मान्छेलाई ओलीको तत्कालिन बिग्रंदो स्वास्थ्यले भित्र भित्र खुशी र पुलकित बनाएर नै सहमतिको आधा आधा समय सत्तामा बस्ने सम्झौता त्याग्न सकेका हुन् भन्न अप्ठ्यारो मान्नु पर्दैन । ओलीको घट्दो आयूमा आफ्नो उन्नती र नेकपाको अध्यक्ष बन्ने अन्तर हृदयको चाह प्रचण्डमा थियो भन्दा पाप लागेछ भने त्यो सहुँला । प्रचण्ड आकंक्षालाई तगारो बनेको ओलीको दोश्रो मृगौला प्रत्यारोपण सफल बन्नु पनि हो । यद्यपी, यो आलेख ओलीको समर्थन र ओली जायज छन् थिए भन्ने हुँदै होइन ।

ओलीले सम्झौता भंग गरेका छन् । पार्टी भित्रकालाई मात्रै होइन पार्टी भन्दा भिन्न बसेकालाई समेत लाज लाग्नेगरि पार्टी पद्दति, प्रणाली र बिधि अनि प्रक्रियाको प्रजातान्त्रिक आचरणलाई तमासा देखाएका छन् । इतिहासमा लुई चौधौ पढेकालाई ‘म नै राज्य हूँ’ भन्ने झझल्को दिएका छन् । ओली राजकीय सत्ता चलाउन केवल काम चलाउ मात्र बने कामयावी बन्न सकेनन । दुई तिहाइको सत्ता हाक्न दुई तिहाई कै सुझबुझ क्षमता र ल्याकत चाहिन्छ । हैसियत भन्दा माथिको तागतले काम गर्दैन भन्ने अर्को उदाहरण ओली मार्फत हेर्न सकिन्छ ।ओलीले जुन टिम निर्माण गरे जुन सल्लहाकार समुह बनाए तिनले राजकीय सुविधामा केवल तर मार्न मात्रै पुगे आफ्नो क्षमता र उदेश्यले व्यवहारत कम्युनिस्ट सिद्दान्तसँग मेल गराउन सकेनन । बरु कम्युनिष्ट बदनाम गर्न र जनमत कम्युनिष्ट बिरोधी बनाउन चै योगदान गरे ।

बिश्मय, बिस्मात र बिजोग प्रचण्डको देखेर अनि माधव र झलनाथको चर्तिकला देखेर राजनीतिमा चासो राख्ने र राजनीतिको प्रणालीगत मान्यतालाई सामान्य विश्लेषण गर्नेहरु छक्क परेका छन् । ओली अनुनयविनय गरेर मान्दैनन, धम्की र घुर्कीले पग्लैदैनन । तथापि किन उनलाई पटकपटक किचकिच गरेर दुःख दिनु ? ओली बिधान र पार्टीले सरकार चलाउने होइन आफ्नो मर्जी र स्वेच्छाले, प्रधानमन्त्रीय पद्दतिमा हस्तक्षेप र निगरानी आवश्यक हुन्न म मान्दिन भनेर आफ्नो अडान र मान्यतामा क्लियर छन् । तर उनका विपक्षीहरु आफ्नो अडान र मान्यता के हो स्पस्ट पार्न सकिरहेका छैनन् । ओलीले आफ्नो ब्यवहार र कार्यशैली मार्फत भन्छन तिमीहरु प्रचण्ड, माधव र झलनाथ मैंले दिने छुट्याउने, भाग खाने बस्ने, मलाई यो गर त्यो गर भनेर हैकम चलाउने हैन म विधि पनि मान्दिन, पार्टी बैठक पनि गर्दिन सकेको गर ।

यति स्पष्ट संदेश पाउँदापाउदै पनि किन बिधि शास्त्रीय मान्यताले ओलीको खिलाफमा जान डराउँछन सक्दैनन् । ओलीलाई कार्यबाही गर्न, सच्याउन पार्टीको फोरम, संसदीय फोरम लगायत ठाउँ छन् त्यो बाटोबाट ओली माथिको एक्सन लिन केले रोक्यो छेक्यो ? संसदीय दलको नेता फेर्न, प्रधानमन्त्रीलाई संसदमा अविश्वासको प्रस्ताव राख्न कुनै संबैधानिक चुनौती बाधा र अड्चन पक्कै छैन । यस्तो अवस्थामा किन संबैधानिक मार्ग अबलम्बन नगर्ने ? यदि आफ्नो बहुमत भए हटाउने नभए चुप बस्ने गर्न किन सकिएन ? पार्टी फुटाएर जाउ भन्दा पनि जान नसक्ने कुनैपनि गहकिलो कदम चाल्न खुट्टा कमाउने तर किचकिच गर्न नछोड्ने प्रक्रिया सर्वथा गलत छ । राजनीतिमा कि वार कि पार, ढुलमुले र द्वैद चरित्र त्याग्न प्रचण्ड खेमाले सकेनन भने ओली आफ्नै अहमले सकिने छन् भने प्रचण्ड–झलनाथ–माधव आफ्नो अकर्मन्यता र कायर प्रस्तुतिले सकिने छन् ।

इतिहासको कुनै कालखण्डमा कम्युनिष्ट पार्टी फुट्न कुनै ठूलो र विशेष सैद्दान्तिक कारण आवश्यक हुन्थेंन । माओकी कान्छी पत्नीलाई हेर्ने दृष्टिकोणमा मत भिन्नता हुँदा पनि नेपालमा कम्युनिष्ट पार्टी फुटेको उदाहरण छ । तर अहिले कम्युनिष्ट फुट्ने आधार र कारण जे पनि बनाउन, भनाउन सकिन्छ । सैद्दान्तिक , दार्शनिक शैलीगत र ब्यबहारिक यथेस्ट कारण छन् तर फुट्न सक्दैनन्, डराउछन यसको स्पस्ट कारण हो खाइपाई आएको सेवा सुबिधा र स्वार्थमा घाटा लाग्छ, सत्ताच्युत बन्नुपर्छ । एक पक्षले अर्को पक्षलाई गलहत्याएर ननिकालुन्जेल नेकपा फुट्दैन ।

भी सेप लगएर घोक्र्याए पछि मात्रै पार्टी छोड भनेको र निषेध गरेको बुझ्ने बौद्दिक क्षमता नेकपाका नेताकार्यकर्तासँग देखिन्छ । ओलीलाई सत्ता छोड भन्ने उपयुक्त कारण ओलीइतर गुटसँग छैन । भने सत्ता म छोड्न हुँदैन भन्ने उचित कारण र तर्क ओलीको छैन । समग्रमा नेकपा गुट हैन पार्टी असफल बन्दैछ । असफलताको अपजस लिन कोही तयार पनि छैन भने जस लिने ठाउँ पनि अब करिब करिब सकिदैछ । नेकपा पार्टीकै सौभाग्य चैं के छ भने ऊ जति असफल भएपनि उसको असफलताको फाइदा लिने अर्को कुनै शक्तिशाली पार्टी छैन ।

बिपक्षी कांग्रेस आफ्नो पराजय र घर झगडाले तंग्रिन सकेको छैन र विगतमा सुशासन दिएको कुनै गतिलो उदाहरणको पनि अभावमा छ । यसर्थ पनि नेकपा ढुक्कसँग झगडा, भ्रष्टाचार, अनाचार र दुराचारमा फसेर नै बस्न सकेको छ । पार्टी पद्दतिमा सत्तापक्ष र विपक्ष दुवै निकम्मा बन्दा यी दुवैलाई खबरदारी गरेर ट्रयाकमा हिडाउने नागरिक आन्दोलन र आवाज हुन्छ तर त्यो आवाज पनि संगठित र व्यवस्थित अनि पारदर्शी छैन फलस्वरूप नेपालको गणतन्त्र अराजक र गतिहीन भएको छ ।

नेकपा भित्र प्रचण्डको कार्यकारी अध्यक्ष, मान पदवी, विशेषण र अतिरिक्त उपाधि भन्ने चिज गजबको देखिएको छ । हाँस्य र खिसिको पदावली भएको छ । कुनै स्वायत्तता बिनाको, पार्टीको बैठक समेत गर्न नपाउने, आलंकारिक शोभा या कागजको भव्य फूल सुगन्धरहित र जीवन नभएको । गोली नभएको बन्दुक बोक्ने हवल्दारको दर्ज्यानी चिन्ह जस्तो भएको छ नेकपमा प्रचण्डको कार्यकारी अध्यक्ष पद । डेरा बस्न गएको डेरावाल आज घरको मालिक बनेर लालपूर्जा लिन उद्दत हरामी भनेर प्रचण्ड लीलालाई दुत्कार्ने र पार्टी छोडेर जान या चुप लागेर बस्न आग्रह गर्छन पूर्व एमाले नेताआर्यकर्ता ।

आखिर यी सब अपमान सकेर निन्दा आलोचना र तिरस्कार सहेर किन नेकपा भएर नै बसिरहन चाहन्छन प्रचण्ड । यसको गम्भीर कारण र मनोविज्ञान छ त्यो हो भयको मनोविज्ञान । विगतमा आफू चुकेको कारण त्यो अनिष्ट आउने र आफू शक्तिहीन हुने बित्तिकै आपद झेल्नु पर्ने डरको मनोविज्ञानले प्रचण्डको दिमागमा घर गरेको छ जुन यथार्थ पनि हो । प्रधानमन्त्री ओलीले त्यो काम आफ्नै हातले फत्ते गर्न सक्छन कथं प्रधानमन्त्रीमाथि प्रचण्ड एक्सनमा गए या पार्टी फुटाए भने पनि ।