
चितवन । चितवनमा कृषि र इन्जिनियरिङ विषय अध्यापन गर्दै आएका प्राध्यापकहरु तिहारलाई लक्षित गरी सयपत्री फूलको खेतीमा लागेका छन् ।
यस वर्षको तिहारको समय पछाडी धकेलिँदा केही नोक्सान व्यहोर्नु परेपनि उनीहरु व्यवसायिक फूल खेतीमा उत्साहित छन् ।
दिनेश मरासिनी र सुर्य ढुंगाना कृषि विषयका उपप्राध्यापक हुनुहुन्छ । उहाँहरु दुई जना मिलेर भरतपुर–१५ मंगलपुरको १० कठ्ठा जमिन भाडामा लिएर सयपत्री फूलको खेती गर्नु भएको छ ।
कार्तिक २८ गते काग तिहारदेखि चहलपहल वढ्ने हुनाले उहाँहरु फूलको गुच्छा र माला विक्रीका लागि तयारी गर्दै हुनुहुन्छ ।
करिव २० हजार माला बुन्ने फूल रहेको भरतपुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्यापन गर्ने दिनेश मरासिनी बताउनुहुन्छ ।
कोरोना महामारी र त्यसको संक्रमण रोक्न भएको लकडाउनले उहाँहरुलाई यो उर्जा प्राप्त भएको हो ।
घरबाटै अनलाइनमार्फत विद्यार्थीलाई पढाउने र बचेको समय फूल फुलाउन लाग्नु भएका उहाँहरु ढकमक्क फूल फुलेको देख्दा अहिले खुशी हुनुहुन्छ ।
कृषि विषय पढेर यसैमा व्यवसायिक काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकेकोमा उहाँहरु खुशी हुनुहुन्छ ।
यस पटक विचौलियाबाट नभइ सिधै उपभोक्तालाई फूल विक्री गर्ने तयारी भइरहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय पाख्रिवास धनकुटामा पढाउँदै आउनुभएका सुर्य ढुँगाना देशभर डेलिभरीको व्यवस्था रहेको बताउनुहून्छ ।
फ्लोरीकल्चर एशोसिएसन नेपालले भारतबाट फूल आउन नदिने समाचार सुनेपछि थप हौसला मिलेको भरतपुर–७ कृष्णपुरका सागर कार्की बताउनुहुन्छ ।
६ जना साथीसँग मिलेर ११ कठ्ठामा फुल खेती गर्नुभएका कार्की तिहार आएसँगै माग बढेपछि माला बनाउन व्यस्त हुनुहुन्छ ।
सवै फूल उत्पादकले डेलिभरीको व्यवस्थासहित फूल र माला विक्री गर्ने बताएका छन् । यस पटक तिहार पछि धकेलिँदा फूल टिकाउन भने कठिन भएको उनीहरुको भनाइ छ ।
पर्याप्त कोल्ड स्टोरको अभाव र हुस्सु लाग्ने समय भएकाले फूल कुहिने समस्या भने वढेको छ ।
फ्लोरीकच्लर एसोसिएसन नेपाल चितवनले चितवनका लागि ५० देखि ६० हजार माला आवश्यक पर्ने र सोको आपूर्ति चितवनमा उत्पादन हुने फूलले धान्ने दावी गरेको छ ।
चितवनमा यो वर्ष २५ देखि ३० विघामा व्यवासायिक फूल खेती भइरहेको एसोसिएसनको भनाइ छ ।
सरकारले मुल्य निर्धारण गरेर उत्पादित फूलको उपयुक्त बजार सहजीकरण गरे भारतबाट कहिल्यै पनि फूल आयात गर्नु नपर्ने र रोजागरी पनि सृजना हुने कृषकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्