
काठमाडौं । नेपालमा कोरोनाबाट थप पांच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका दुई र रुपन्देहीका एक जना छन् ।
कैलालीमा टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमै उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।
यस्तै धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो ।
शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत उनको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै झापामा थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–४ का ९२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
मृतक पुरुषमा एक साता अघि कोरोना देखिएको थियो । यस्तै बिर्तामोडकै बिएण्डसी अस्पतालमा तेह्रथुमका ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।
उता, बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।
कात्तिक २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्