१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फर्जी बाबु बनाउन खोज्दा पक्राउ


0
Shares

चितवन, कात्तिक २४ । भरतपुर महानगरपालिका वडा नम्बर–५ का वडाध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ ।

वडाध्यक्ष पदमपाणि सुवेदीसहितलाई फर्जी बुवा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार वडा नम्बर–५ की स्वस्तिका मल्लले बुवा इन्द्रबहादुर मल्ल र आमा मिरा शाह बनाएर नागरिकता लिन लागेपछि अनुसन्धान सुरु गरिएको हो ।

छोरीको जन्म मिति वि.सं. २०५७ असोज १ गते र बाबु–आमाको विवाह दर्ता वि.सं. २०६२ जेठ १६ गतेको भेटेपछि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

निजहरुले छोरीको जन्मदर्ता भने वि.सं. २०७० मा गरेको पाइएको छ । जन्मिएपछि जन्मदर्ता कुनैपनि समयमा गर्ने प्रचलन रहेको छ ।

जन्म भएको मिति बाबु–आमा भनिएकाको विवाह भएको मितिभन्दा अघि देखिएपछि शंका लागेर प्रशासनले अनुसन्धान गरेको शर्मा बताउनुहुन्छ ।

वडा कार्यालयको सिफारिससहित यही कात्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरुबाट नक्कली कागजात भेटिएको हो ।

कागजपत्र पेस भएसँगै कार्यालयले अनुसन्धान सुरु गरी वडाध्यक्ष, वडासचिवसहित छजनाको बयान लिएको छ । अन्य चारजनाको बयान लिनेक्रम जारी रहेको कार्यालयले जनाएको छ ।