
बागलुङ । चिसो बढ्न थालेपछि बागलुङ ढोरपाटनका बाढी पीडितहरुकोे दैनिकी कष्टकर बन्दै गएको छ ।
ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गते राती आएको बाढीपहिरोले विस्थापित भएकाको घर पुनर्निर्माण नहुँदा उनीहरु चिसो मौसममा पाल र टिनको छाप्रोमा बस्न बाध्य भएका छन् ।
चिसो बढ्न थालेपछि बागलुङ ढोरपाटनका बाढी पीडितहरुकोे दैनिकी कष्टकर बन्दै गएको छ ।
ढोरपाटन नगरपालिकाको बोबाङमा गत भदौ १७ गते राती आएको बाढीपहिरोले विस्थापित भएका स्थानीय चिसो मौसममा पाल र टिनको छाप्रोमा दिन काट्न बाध्य भएका छन् ।
गत असोज ६ गतेको मन्त्रिपरिषद् बैठकले बागलुङ र सिन्धुपाल्चोक जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी क्षतिको मूल्याङ्कन गरेर पुनर्निर्माण गर्ने भने पनि अहिलेसम्म कुनै काम हुन सकेको छैन ।
जाडो एक्कासी बढेपछि बाढीपीडितहरूले आफुलाई बस्ने घर बनाइदिन सरकारसँग माग गरेका छन् ।
ढोरपाटनको बाढीपीडितलाई धेरै संघसंस्थाबाट चामल दाल नुन तेल लत्ताकपडा भाडावर्तन जस्ता पाता र नगद वितरण भए पनि बस्ने बास नहुँदा समस्यामा छन् ।
ढोरपाटन नगरपालिकाभित्र बाढी पहिरोले घरविहीन परिवारलाई नगरपालिकाले पक्की घर निर्माण गरिदिने घोषणा गरेपछि अहिलेसम्म राहत कोषमा २ करोड रूपैयाँ जम्मा भइसकेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली बताउनुहुन्छ ।
गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ मा आएको बाढीपहिरोले १ सय ४४ घर परिवार विस्थापित भएका छन् भने सडक र विजुली बत्तीमा क्षति पुगेको थियो ।
बाढीले बगाएर वेपत्ता भएका ३७ मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन् । अहिले जाडो बढेपछि त्यस क्षेत्रका नागरिक बिरामी पर्न थालेका छन् ।
बाढीपहिरोले बागलुङमा यस वर्ष ५ सय ९० घर परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयको तत्थ्याङक छ ।
बाढी पहिरोका कारण विस्थापित परिवारको पुर्नस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालय विपद अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखामा सिफारिस गरि पठाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको भनाइ छ ।
संघीय सरकारले विपद्ग्रस्त जिल्ला घोषणा गरेपनि बाढीपहिरोले बगाएको घर बनाउने काम कहिलेबाट शुरू हुने भन्ने अनिश्चित हुँदा स्थानीय अन्यौलमा छन् ।
जिल्लामा असारदेखि हालसम्म बाढी पहिरोमा परि ३८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्