१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकामा चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीद्वारा राजीनामा


0
Shares

वासिङटन, कात्तिक २५ । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिनुभएको छ ।

महान्यायाधिवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई ‘मेमो’ पठाएर राष्ट्रपति चुनावमा धाँधली भए/नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिनुभएको हो ।

पिल्जरले हाल महान्यायाधिवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आउनुभएको थियो ।

रिपब्लिकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाइसमेत दिनुभएको छैन भने चुनावी परिणामलाई पनि स्वीकार गर्नुभएको छैन ।

राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उहाँका महान्यायाधिवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिनुभएको छ ।

महान्यायाधिवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनुभएपनि राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाइरहनुभएको छ ।

राष्ट्रपतिको पक्षका वकिलहरुले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् ।