
पटना, कात्तिक २५ । भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडीए)ले झिनो अग्रता लिएको छ ।
बिहारको कुल २४३ सदस्यीय विधानसभामा एनडीएले १२८ स्थानमा अग्रता बनाइरहेको छ । जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४७, विकासशील इन्सान पार्टीले छ तथा हिन्दुस्तानी अवाम मोर्चाले एक स्थानमा अग्रता बनाएका छन् ।
पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धनले कुल १०४ स्थानमा अग्रता बनाइरहेको छ ।
महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ६७, भारतीय राष्ट्रिय कांग्रेसले १९, वामपन्थी समूहले १९ स्थानमा अग्रता बनाएका छन् ।
बिहार निर्वाचन आयोगका प्रमुख एचआर श्रीनिवासले मंगलबार अबेर रातिसम्म मतगणना कार्य जारी रहने बताउनुभएको छ ।
बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोनाभाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यसपटक केही ढिलाइ भएको आयोगले जनाएको छ ।
कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको संख्या ७२ हजार ७२३ ओटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको छ ।
यस चुनवामा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । चुनाव आयोगले हाल ५५ ओटा मतगणनास्थलको व्यवस्था गरेको छ ।
बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।
प्रतिक्रिया दिनुहोस्