
कैलाली । कैलालीको गोदावरी नगरपालिकाले ढुगां गिट्टी उत्खनन्का लागि ठेक्का सम्झौता नगरेपनि असोज महिनादेखि नैै खुटिया खोलाबाट अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् भइरहेको छ ।
ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलोमतोमा रातीको समयमा शिव पार्वती सामुदायिक वनको बाटो हुँदै ढुगां गिट्टी ओसार्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।
गोदावरी नगरपालिकाको ८ र ९ नम्बर वडाको बिचमा पर्ने खुटिया नदीले जिल्लालाई आवश्यक पर्ने ढुगां गिट्टीको ५० प्रतिशत भार थेग्ने गर्छ ।
सँधै वर्षा लागेपछि असारदेखि भदौसम्म तीन महिना खोला नालाहरुबाट ढुगां गिट्टी उत्खनन् गर्न स्थानीय प्रशासनले बन्द गर्ने गरेको छ ।
यस वर्ष पनि स्थानीय प्रशासनले तीन महिना खोला बन्द गरेर पुनः खोलेको हो । खोलानालाबाट ढुगां गिट्टी उत्खननका लागी स्थानीय तहले ठेक्का दिने प्रक्रिया छ ।
तर गोदावरी नगरपालिकाले उत्खननको अनुमती पाएको दुई महिना पुग्नै लाग्दा पनि ठेक्का सम्झौता गर्न सकेको छैन ।
यही मौका छोपेर ठेकेदार र सामुदायिक वनका पदाधिकारीहरु खुटिया नदीबाट राती÷राती ढुगां गिट्टी निकाली रहेका छन् ।
शिव पार्वती सामुदायिक वनका पदाधिकारी र ठेकेदारहरुको संलग्नतामा राती ९ बजेदेखि बिहान ५ बजेसम्म नदीबाट ढुगां गिट्टी उत्खनन् भइरहेको स्थानीय बताउँछन् ।
वैधानिक रुपमा ठेक्का भइसकेपछि नदीजन्य पदार्थ उत्खनन् गरेपछि सिधै मूख्य सडक भएर ओसारिने गरिन्थ्यो ।
तर अहिले लुकिछिपी ढुगां गिट्टी ओसार्न उनीहरुले सामुदायिक वनभित्रको बाटो प्रयोग गरिरहेका हुन् ।
वन संरक्षणका लागि वनमा चौकिदार राखेपनि वनकै पदाधिकारीको मिलोमतोमा वनभित्रैबाट ढुगां गिट्टी ओसारिँदा चौकिदारले समेत नियन्त्रण गर्न सकेको छैन ।
नदीबाट संकलन गरेको ढुगां गिट्टी राती वनभित्र राख्ने गर्दछन भने दिउँसो ओसार्ने गरेको स्थानीय बताउँछन् ।
सामुदायिक वनको बाटो हुँदै ढुगां गिट्टी तस्करी हुने काम रोक्न वनको चौकिदारले प्रयास गरेपनि उल्टै ज्यान मार्ने धम्की आउने गरेको चौकीदार बताउँछन् ।
अवैध रुपमा ढुगां गिट्टी उत्खनन् र ओसार पोसार भइरहेको बारे स्थानीयले प्रहरी र स्थानीय तहका जनप्रतिनिधीहरुलाई समेत जानकारी गराइसकेका छन् ।
तर कुनै तहबाट पनि त्यसलाई रोक्ने काम भइरहेको छैन । यसरी अवैध रुपमा भइरहेको उत्खनन्ले तराइको ग्रामीण क्षेत्रलाई असर पार्नुका साथै वनसमेत विनाश भइरहेको स्थानीय बताउँछन् ।
यता गोदावरी नगरपालिकाले भने टेण्डर खोलेपनि विगतमा टेण्डरनै नपरेको जानकारी दिंदै अहिले टेण्डर परेर ठेक्का प्रक्रियामा रहेको जनाएको छ ।
नगरपालिकाले ठेक्का प्रक्रियामा जान ढिलाइ गर्दा करोडौंको राजस्व गुम्नुका साथै ठेकेदार र सामुदायिक वनका पदाधिकारीहरु मालामाल भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्