
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ ।
संघले गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका सभापति डा. बद्री केसी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच सोमवार सिहंदरवारमा भएको भेटमा उक्त माग गरेको हो ।
भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य बिभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो ।
कोभिड १९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसंग अनुरोध गरिएको थियो ।
भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता गर्न संघको विधानमा व्यवस्था भए अनुसार परराष्ट्र मन्त्रालयमा प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गर्नुभएको थियो ।
यस्तै मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिका प्रति खुसी व्यक्त गर्नुभयो ।
मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
भेटमा गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश शम्शेर राणाको समेत उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्