
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा आज सुनुवाइ हुंदैछ ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
मुद्धाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा हुंदैछ ।
उक्त रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सांसद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछि चाडपर्व र कोरोना महामारीका कारण सुनुवाइ प्रभावित हुंदै आएको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको असोज १४ गतेदेखि संवैधानिक इजलास सुनुवाइ सुरु भएको थियो ।
त्यसपछि कात्तिक १६ गते गौतम पक्षका केही वकिलले बहस गरेपछि ‘हेर्दाहेर्दै’ मा राखिएको रिटमाथि सुनुवाइ हुन सकेको थिएन ।
२०७४ सालको प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्