१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


के गर्दैछ राष्ट्रिय आविष्कार केन्द्र ? (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक २७ । कोरोना महामारी सुरु भएपछि नेपालमा उपचार सामग्रीको हाहाकार हुँदा काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले त्यसमा भरथेक गर्ने कोसिस गर्‍यो ।

सुरुका दिनमा बजारमा पीपीई नपाउँदा नर्सदेखि एम्बुलेन्स चालकलाई आफैंले निर्माण गरेर निःशुल्क वितरण गरेको केन्द्रले अहिले अस्पताल तथा संक्रमितको लागि आवश्यक १३ थरिका स्वास्थ्य सामग्री बनाएर सहयोग गरिसकेको छ ।

आविष्कार केन्द्रले अक्सिजन हुड, फेससिल्ड, स्वाब संकलन बुथ, एरोसोल बक्स, डिस्इन्फेक्सन बक्स, स्वाब संकलन गर्ने सुइरो, कोरोनाले मृत्यु भएको शव राख्ने बडीब्याग, संक्रमितलाई एम्बुलेन्समा चाहिने आइसोलेसन बक्सलगायतका १३ ओटा सामग्री निर्माण गरिरहेको छ ।

यीबाहेक आविष्कार केन्द्रमा ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अनुसन्धानका ३२ ओटा प्रोजेक्ट अघि बढेका छन् । तीमध्ये छ प्रोजेक्ट सम्पन्न हुने अवस्थामा छन् ।

कोरोना संक्रमण बढेसँगै आविष्कार केन्द्रको ध्यान पनि अन्य प्रोजेक्टलाई थाती राख्दै स्वास्थ्यकर्मीको अनुरोधबमोजिम कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री उत्पादनमा केन्द्रित भयो ।

लकडाउन भएयता देश तथा विदेशबाट नगद र उपकरणसहित केन्द्रलाई चार करोड रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ ।

दाताबाट सहयोग प्राप्त भएकाले उत्पादित सामग्री उनीहरुको अनुरोधमा निःशुल्क वितरण गरिएको छ ।

अहिलेपनि कोरोना रोकथाम र उपचारका लागि आवश्यक सामग्री उत्पादनमा ३५ भन्दा बढी अनुसन्धानकर्ता जुटिरहेका छन् ।

थोरै रकममा मर्मत गर्न सकिने भएपनि अस्पतालमा बिग्रिएर थन्किएका उपकरणको मर्मतदेखि त्यसको जडान गर्दिएर आविष्कार केन्द्रले अस्पतालहरुलाई सहयोग गर्दै आएको छ ।

संकटको यस घडीमा दाताहरुसँग सहयोग जुटाएर केन्द्रले गरेको काम प्रशंसनीय छ ।

भिडियो हेर्नुहोस्

भिडियोः दिलिप पोखरेल (इमेज)