
काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हाल बन्द रहेका नागरिकता वितरणलगायत सेवा आउँदो मंसिर ३ गतेबाट सुरु गर्ने भएको छ ।
उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक बढिरहेको र कार्यालयमा कार्यरत् केही कर्मचारीहरुमा समेत संक्रमण देखिएको भन्दै प्रशासन कार्यालयले गत असोज २५ गतेबाट स्थगित गरिएका सेवाहरु मंसिर ३ बाट सुरु गर्नेगरी बिहीबार सूचना जारी गरेको हो ।
प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र, नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण, पत्रपत्रिका, संघ–संस्था दर्ता र नवीकरण सेवाहरु तोकिएको बारअनुसार कार्यालयमा सेवा दिने प्रबन्ध मिलाएको छ ।
शान्ति–सुरक्षाको निवेदन र कानुनबमोजिम हुने मुद्दासम्बन्धी कार्यहरु, आयोजनासँग सम्बन्धित समन्वय तथा छलफल र विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु भने कार्यालय खुल्ने सबै दिन सेवा दिने जनाइएको छ ।
यस्तै, सेवाग्राही कार्यालय आउँदा तोकिएको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएको हुनुपर्ने र मापदण्ड पालना नगरे संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने पनि प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्