
सोलुखुम्बु, कात्तिक २७ । कोरोना महामारीले मुलुकभरका विद्यालयको पठनपाठन अस्तव्यस्त भएका बेला सोलुखुम्बुमा भने नयाँ कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
शैक्षिक क्रियाकलापलाई सक्रिय राख्न सोलुदूधकुण्ड नगरपालिका–२, बेनीमा ‘पाठशाला’ कार्यक्रम सुरु गरिएको छ ।
वडा कार्यालयको नेतृत्वमा सुरु भएको यो कार्यक्रममा अभिभावकलाई नेपाल टेलिकमले वितरण गर्ने सीयूजी सिम उपलब्ध गराइएको छ ।
सो सिमको प्रयोग गरी विद्यार्थीको सिकाइलाई शिक्षकले अनुगमन तथा सिकाइमा जुनसुकै बेला निःशुल्क सहजीकरण गर्नेछन् भने विद्यार्थीले आफूलाई कठिन लागेका विषयमा जुनसुकै बेला शिक्षकसँग सिक्न पाउने छन् ।
सिम मासिकरुपमा सक्रिय गर्नका लागि अभिभावकले न्यूनतम् ९९ रुपैयाँ रिर्चाज गर्नुपर्नेछ । रिचार्जपछि एकै सर्कलका सीयूजी सिममा अनलिमिटेड कल गर्न पाउनेछन् । साथै, पाँच जीबी डाटा, एसएमएस सुविधा पनि प्राप्त गर्नेछन् ।
सीयूजी खरिदका लागि वडाले प्रतिसिम १२९ रुपैयाँ खर्चेको छ । यस क्षेत्रमा मंसिर ३ गतेबाट विद्यालयमा सञ्चालनमा आउने बताइएको छ ।
संक्रमण फैलिए ‘सीयूजी पाठशाला’ कार्यक्रमलाई एक्टिभ गराइहाल्ने तयारीमा वडा कार्यालय रहेको छ ।
अधिकांश विद्यालयले नेपाल सरकार जारी गरेको एकीकृत सिकाइ सहजीकरण पुस्तिकालाई आधार मानेर शिक्षण गराउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्