
सिन्धुपाल्चोक, कात्तिक २७ । सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सुचारु भएपनि सामग्री अपेक्षाकृत भित्रिएको छैन । दशैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएका छन् ।
लामो समयदेखि बन्द रहेको नाका पुनः सुचारु भएपनि चीनको खासामा रोकिएका सामग्री ल्याउन अझै समय लाग्ने भएको छ ।
नाकाबाट निश्चित मालवाहक कन्टेनरमात्रै भित्रिँदा खासामा रहेका सामग्री काठमाडौं पुर्याउन करिब डेढ महिना लाग्ने देखिएको छ ।
नेपाली व्यवसायीले दशैंअगावै बिक्री गर्नुपर्ने सामग्री पनि खासामा अड्किएका थिए ।
चिनियाँ पक्षले निश्चित संख्यामा गाडीमा सामान पठाउँदा समस्या भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताउनुभयो ।
अझै लामो समय खासामा सामान अलपत्र पर्ने देखिएकाले लगानी डुब्ने अवस्थामा पुगेको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् ।
यसैबीच, तातोपानीबाट सहज व्यापार गराउन नेपाल–चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक शाखाले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्