१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडेन एरिजोनामा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो


13
Shares

us trump ready to handover power

वासिङटन, कात्तिक २८ । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनुभएको छ ।

यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नुभएका बाइडेनको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ ।

एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि)सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गर्नुभएको छ ।

अमेरिकामा कुल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११ हजार बढी मत प्राप्त गर्नुभएको निर्वाचन अधिकारीहरुलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलोपटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन् ।

चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत विन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो ।

यसैबीच, बाइडेनले झिनो अग्रता बनाएर जित्नुभएका राज्यहरुमा पुनः मतगणना गर्न रिपब्लिकन पार्टीले देशव्यापी अभियान चलाएको छ ।

ट्रम्प अभियानले एरिजोना राज्यमा पनि मुद्दा दायर गरिसकेको छ । राज्यको सबैभन्दा ठूलो काउन्टी मारिकोपामा बाइडेनका समर्थकहरुले जबर्जस्ती मतदानका लागि मानिसलाई उक्साएको रिपब्लिकन समर्थकले आरोप लगाएका छन् ।

हाल झिनो बहुमत प्राप्त गरी बाइडेन विजयी भइसकेका पेन्सिल्भेनिया र जोर्जिया राज्यमा हातले एक–एक गरी पुनः मतगणना गर्न लागिएको छ । यी दुवै राज्यले मतगणनाको कार्य सम्पन्न नभएको जनाउँदै राष्ट्रपति–निर्वाचित बाइडेनलाई प्रमाणपत्र दिएका छैनन् ।

मतगणनाको कार्य पूरा नभएको र कानुनी लडाइँ बाँकी रहेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाइसमेत दिनुभएको छैन भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै हार स्वीकार्नुभएको छैन ।

राष्ट्रपति ट्रम्पले यसबीचमा रक्षामन्त्री मार्क एस्परलाई बर्खास्त गर्नुका साथै विदेशमन्त्री माइक पोम्पेओलाई विदेश भ्रमणको स्वीकृति दिनुभएको छ ।