२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


समयमै मल बिउ नपाउँदा फूल उत्पादनमा कमी, फक्रेका फूल विक्री गर्न समस्या


0
Shares

तेह्रथुम । तिहारका लागि फूलको ब्यावसायिक खेती गर्दै आएका धनकुटाका किसानहरुले यस वर्ष फूल बिक्रीबाट सोचे जस्तो आम्दानी लिन नसक्ने भएका छन् ।

कोरोना महामारीका कारणले सरकारले गरेको लकडाउन र समयमै पर्याप्त मल र बिउ नपाएपछि उत्पादनमा कमी आएको किसानको गुनासो छ ।

धनकुटा नगरपालिका–३ सिप्तीङका किसान रेशबहादुर राईले विगतका वर्षहरुमा तिहारको समयमा फूल बिक्रि गरेर ६ महिनाको लागि परिवारको सबै खर्च जुटाउँदै आउनु भएको थियो ।

तर, यो वर्ष भने लकडाउनका कारणले समयमै मल बिउ नपाएपछि र अत्याधिक वर्षाका कारण उत्पादनमा कमी भइ एक महिनाको खर्च समेत नपुग्ने अवस्था आएको गुनासो गर्नुभयो । तिहारले छपक्कै छोपीसक्द समेत फुल बिक्री हुने अत्तोपत्तो छैन् ।

त्यसो त गएका बर्षहरुमा भन्दा यो वर्ष तिहार ढिलो आएकाले फूल ओइलाउने पो हो कि भन्ने चिन्ता किसानलाई थपिएको छ ।

दशैं सकिए लगत्तै ढकमक्क फूल फुल्न सुरु गरी अहिले नै विक्रीका लागि योग्य भइसकेका छन । तर, ती फूलहरु एक हप्तासम्म जोगाएर राख्नुपर्ने बाध्यता रहेको किसान चन्द्रबहादुर राईले बताउनुभयो ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिक स्थल सिंगार्न सयपत्री फूलको माग अत्याधिक हुने गर्दछ ।

उत्पादित फूल बारीबाटै होलसेल व्यापारीले खरिद गर्ने गरेका छन् । लकडाउन तथा फूल रोप्ने समयमा अत्याधिक झरी र अहिलेको खडेरीको कारण उत्पादनमा कमी आएको किसान अनिता राईको भनाइ छ ।

धनकुटामा हरेक वर्ष फूल खेती गर्ने किसानहरुको संख्या घट्दै जान थालेको छ । लाँकुरे, चिउरेबोटे, सिप्तिङ, स्याउले, निगाले, कागते, भीरगाउँ लगाएतका स्थानमा फूलको व्यावसायिक खेती गरिन्छ ।

यहाँ उत्पादित फूल धनकुटा सहित धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा पुग्ने गरेको छ ।