
काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानका लागि सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ ।
सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टा भित्र प्राप्त रिपोर्टको आधारमा यात्रा गराउँदा समेत यात्रुको पुनः पोजेटिभ देखिएको चिन्ता व्यक्त गर्दै निगमले अर्को व्यवस्था नभएसम्मका लागि हङकङ उडानमा सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो ।
निगमको महत्वपूर्ण गन्तब्य हङकङ उडानमा केही यात्रुमा बारम्बार कोरोना पोजेटिभ देखिएपछि त्यहाँको नागरिक उड्डयनले उडान प्रतिबन्ध लगाइरहेको छ ।
हङकङले पछिल्लो पटक निगमलाई तेस्रो पटक १४ दिनको लागि उडान प्रतिबन्ध गरेको छ ।
नेपालबाट पीसीआर गरेर गएका यात्रुको त्यहाँ पुनः परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएका कारण निगमको उडान प्रतिबन्ध भएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।
निगमका अन्य उडान गन्तब्यमा भने यस्तो समस्या नरहेको पनि उहाँले बताउनुभयो ।
हङकङले अन्य मुलुकको उडान पनि प्रतिबन्ध गरेको अवस्थामा नेपाल एयरलाइन्सलाई तेश्रो पटक १४ दिनका लागि प्रतिबन्ध लगाएको छ ।
नेपाल एयरलाइन्सको पछिल्लो उडान प्रतिबन्ध २५ नोभेम्बरसम्म कायम रहनेछ । पछिल्लो पटक दुबई र नारिताले निगमको उडानमा एक-दुई जना यात्रुमा कोरोना पोजेटिभ देखिएको भन्दै निगमलाई सचेत पत्र पठाएको थियो ।
निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्