
चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोवास गर्नेहरुको समस्या सधैं उस्तै छन् ।
दैनिक काम गर्दागर्दै मानविय क्षति हुन स्वभाविक जस्तै भएपनि परिवारका सदस्य गुमाइरहनु पर्ने उनीहरुको पीडा उस्तै छ ।
तर पनि यो पीडालाई भुलेरै वन्यजन्तु संरक्षणमा उनीहरु अहोरात्र खटिइ रहेका छन् ।
रत्ननगर नगरपालिकाको बद्रेनी मध्यवर्तीको नजिक छ । शान्तिमाया तामाङको घर पनि त्यही पर्छ । विस २०६४ साल असोज २६ गते उहालाई ठूलो ब्रजपात पर्यो ।
साँढे तीन महिनाको छोरा हात्तीको आक्रमणबाट गुमाउनु परेको पीडाले अझै पनि उहाँलाई छट्पटी भइरहन्छ ।
सोही ठाउँकी नीता महतोले पनि अभिभावक गुमाउनु पर्यो । उहाँको सुसुरालाई पनि गैंडाले आक्रमण गर्यो । रत्ननगर ८ घर भएकी रुपा तामाङले सासु गुमाउनुपर्यो ।
मृगगुञ्ज उपभोक्ता समितिको कार्यक्षेत्रमा बसोवास गर्ने उहाँसहित स्थानीयहरु पीडाकै वीचपनि वन्यजन्तुको संरक्षणमा सक्रिय भइरहेका छन् ।
यसको बदला परिवारका सदस्य गुमाउँदा हुने पीडालाई कम गर्न र वन्यजन्तुप्रति प्रतिसोधको भावना आउन नदिन पीडित परिवारका वालवालिकालाई छात्रवृत्ति दिने गरिएको छ ।
सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले किन्डरीलाइफ नेपाल र जर्मन नेपाल फ्रेण्डसीप एशोसियसनको आर्थिक सहयोगमा मध्यवर्ती क्षेत्रका अति प्रभावित र गरिव परिवारलाई विगत तीन वर्ष देखि छात्रृवत्ति दिइदै आएको छ ।
यसले अभिभावक र परिवारका सदस्य गुमाएर पर्न जाने आर्थिक भार कम हुने र संरक्षणमा सहयोग पुग्ने कोषका प्रमुख डाक्टर बाबुराम लामिछाने बताउनहुन्छ ।
अहिले मृगकुञ्जका १३ र माडीका २ गरी १५ जनालाई छात्रवृत्ति दिइएको र यसले वन्यजन्तु मानववीचको द्धन्द्ध कम हुनुका साथै अभिभावक गुम्दा आर्थिक अभावले पढाई छोड्न नपर्ने कोषका कर्मचारी ऋषि सुवेदी बताउनुहुन्छ । छिट्टै अन्य क्षेत्रका मध्यवर्ती क्षेत्रमा पनि विस्तार गरीने बताइएको छ ।
मानविय क्षती अकल्पनीय भएकाले मुत्युलाई मुल्यसँग तुलना गर्न नसकिने भएपनि क्षतिमा केही मलम लगाउन सहयोग पुगेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै १२ जना मानिसले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनु परेको जनाएको छ ।
जसमा हात्तीको आक्रमणबाट मात्रै ६ जनाले ज्यान गुमाएका छन् । स्थानीय भने बसोवास रहेको ठाउँ सुरक्षित राख्न भरपर्दो विधि अपनाउन पटक–पटक आग्रह भने गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्