
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्रको कलह चुलिँदै गर्दा नेताहरुबीच एक अर्काप्रति उछितो काड्ने होडबाजी नै चलेको छ ।
नेता कार्यकर्ता पक्ष विपक्षमा रहेर शीर्ष नेताहरुलाई तल्लोस्तरको गाली गर्न थालिसकेका छन् ।
त्यसमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले त अध्यक्ष आफैं भएकाले अरुलाई पार्टीको चिन्ता नलिन सुझावसमेत दिनुभएको छ ।
पार्टीभित्रको गुट उपगुटको रस्साकस्सी चलिरहँदा, कुन अध्यक्ष कार्यकारी र कति अधिकार एवम् शक्तिशाली भन्ने तुलोमा तौलिनु पर्ने अवस्था सिर्जना भइसक्दा प्रधानमन्त्री ओलीले आफू नै अध्यक्ष भएको दाबी गर्दै नेकपाको बारेमा चिन्ता नलिन आफूविरुद्ध सिंगौरी खेल्ने नेताहरुलाई चुनौती दिनुभएको छ ।
प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालबीच शक्तिको होडबाजी चलिरहँदा अध्यक्ष ओलीले सार्वजनिक रुपमै पार्टीको बारेमा चिन्ता नलिन चुनौति दिनुभएको छ ।
घोडाका खुट्टासँग आफ्ना गोडाको तुलना गर्दै ओलीले साना खुट्टा भएको घोडाले सवार बोकेर दौडिए जसरी नै आफ्ना साना गोडा भएपनि देशको भारी बोकेर दौडनसक्ने बलवान भएको जिकिर गर्नुभएको छ ।
केही दिनअघि संखुवासभाको एउटा कार्यक्रममा पार्टीको बिवादबारे प्रधानमन्त्री ओलीले असन्तुष्ट समूहलाई कवि हरिभक्त कटुवालको कविताको स्मरणसमेत गराउनुभयो । टाढाबाट हेरेर हैन, आफूलाई नजिकबाट नियाल्न र दाग धब्बा देखे आफू सच्चिन तयार रहेको ओलीको दावी छ ।
एक अर्काप्रति शक्ति संघर्षको होडबाजी घोचपेचमा लागि रहँदा नेकपाभित्र झनै असन्तुष्टिका आवाजहरु उठ्न थालेका छन् ।
पार्टीका विभिन्न कमिटीमा छलफल गरेर समस्या समाधान गर्नुको सट्टा सत्ता र शक्तिको आडमा लिएको अडानले स्वयम ओलीलाई समेत हित नहुने छर्लंग छ ।
त्यसैले पार्टीको शीर्ष नेतृत्वको हैसियतले कालो जुँगा र फूलेका जुँगाको लडाई गर्नु र जुँगामा ताउ लाउनु भन्दा संस्थागत रुपमै समस्या समाधान गरेर अघि बढे देश र जनताका लागि हित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्