१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हुम्लामा दुई दिन लगातार हिमपात, किसान खुशी


0
Shares

हुम्ला । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताउनुभयो ।

बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ ।

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए ।

जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।

सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताउनुभयो ।

लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताउनुभयो ।

मंगलबार बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।