२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने ट्रम्पको तयारी


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने तयारी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले आगामी दुई महिनापछि आफ्ना सैनिक फिर्ता बोलाउन सैन्य अधिकारीलाई आदेश दिने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा मन्त्रालयका अनुसार राष्ट्रपति ट्रम्प अफगानिस्तानमा रहेका बाँकी सैनिक मध्येबाट केहीलाई फिर्ता ल्याउने तयारी गर्नुभएको छ ।

आउँदो जनवरीको मध्यसम्म अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५ सयमा सीमित गर्ने राष्ट्रपति ट्रम्पको तयारी छ ।

हाल अफगानिस्तानमा झण्डै पाँच हजार अमेरिकी सैनिक छन् । इराकमा रहेका तीन हजार सैनिकबाट घटाएर २५ सय बनाइने छ ।

राष्ट्रपति ट्रम्पले यसअघि क्रिसमससम्म सबै सैनिक फिर्ता गर्ने बताउनुभएको थियो ।

हालै सम्पन्न निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथअघि नै सैनिक फिर्ताको प्रक्रिया पूरा गर्ने तयारीमा रक्षा मन्त्रालय रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी नेतृत्वमा रहेको सेनाले सन् २००३ मा इराकमाथि आक्रमण गरेर राष्ट्रपति सद्दाम हुसेनको सत्ताच्यूत गराएको थियो ।

अमेरिकी सेना सन् २००१ देखि अफगानिस्तानको सुरक्षामा खटिएको छ । लामो समयको युद्धपछि अमेरिकाले तालिवानी लडाकुहरुसँग शाीन्त सम्झौता गरेर युद्धविराम गरेको थियो ।

तालिवानीसँगको युद्धविरामका क्रममा भएको सहमति कार्यान्वयनमा ल्याउन इराकबाट अमेरिकी सेना क्रमश फिर्ता हुन थालेको हो । एजेन्सी