१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाको निःशुल्क उपचारका लागि थप तीन अर्ब बजेट विनियोजन गर्न माग


0
Shares

काठमाडौं । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका नौ वटै जिल्लामा कोभिड–१९ को व्यवस्थापन तथा निःशुल्क उपचारका लागि ३ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।

असारसम्मको उपचारका लागि बजेट सुनिश्चित नभए अस्पतालहरूले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले संक्रमितको उपचारका लागि दैनिक ३३ हजार ९ सय ७५ रुपैयाँ खर्च आवश्यक परिरहेको उल्लेख गरेको छ ।

स्वास्थ्यकर्मीको होटल बास खर्च, बिरामीको खाना–खाजा, सामान्य लक्षण भएका र आईसीयू, भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने खर्च, स्वास्थ्य सुरक्षा सामग्री, पीसीआर जाँच र स्वास्थ्यकर्मीहरूको जोखिम भत्तालगायत अत्यावश्यक पर्ने उल्लेख गर्दै बजेट मागेको हो ।

केही समयअघि संघ सरकारले संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने भनेपछि अन्योल उत्पन्न भएका बेला प्रदेश सरकारले यहाँका अस्पतालहरूलाई सबै खर्च आफूले व्यहोर्ने आश्वासन दिँदै कसैबाट पनि शुल्क नलिन निर्देशन दिएको थियो ।

उक्त आश्वासनका आधारमा हालसम्म निःशुल्क उपचार गर्दै आएको भए पनि अब बजेटको टुंगो नभए उपचार गर्न नसक्ने अस्पतालहरूले जनाएका हुन् ।

सुदूरपश्चिममा धनगढीको सेती र कञ्चनपुरको महाकाली अस्पतालमा संक्रमितको उपचार हुँदै आएको छ ।

संक्रमितलाई अस्पतालका आईसीयूमा राखेर उपचार गर्न दैनिक ७ हजार खर्च हुने गरेको र भेन्टिलेटरमा राख्नुपर्दा दैनिक १५ हजार खर्च हुने निर्देशनालयले जनाएको छ ।

रगत, एक्स–रेलगायत जाँच गर्न प्रति बिरामी दैनिक २ हजार, पीसीआर जाँच गर्न एक जनाको २ हजार खर्च हुने गरेको निर्देशनालयको हिसाब छ ।

पीपीई सेट खरिद गर्न लगभग ३ हजार चाहिने पत्रमा उल्लेख छ । अन्य आधारभूत स्वास्थ्य सेवा सुचारु गर्न अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि रकम विनियोजन गर्नुपर्नेमा निर्देशनालयको माग छ ।

हालसम्म प्रदेश सरकारले कोभिड–१९ को व्यवस्थापन तथा उपचारका लागि झण्डै ६० करोड खर्च गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तर स्वास्थ्य संस्थाहरूमा आवश्यक स्रोत साधनको अभाव छ ।

प्रदेशभर २३ बेड आईसीयू र १७ बेड मात्र भेन्टिलेटर रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ । प्रदेशका १८ वटा सरकारी स्वास्थ्य संस्थामा ३ सय १० आइसोलेसन बेड छन् ।