१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा बन्दैछ ‘नेपालकै अग्लो’ शिवको मूर्ति (भिडियो)


0
Shares

पोखरा, मंसिर २ । पोखरामा ‘नेपालकै अग्लो’ शिवको मूर्ति निर्माण भइरहेको छ ।

पोखरा आउने पर्यटकको बसाइ लमब्याउन र भारतीय पर्यटकहरुलाई मध्यनजर गर्दै मूर्ति स्थापना गर्न लागिएको हो ।

एकै ठाउँबाट रमणीय दृश्य अवलोकन गर्न सकिने गरी पोखरा महानगरपालिका पुम्दीकोटमा ५२ फिट अग्लो शिव मूर्ति निर्माण गरिएको हो ।

पोखरामा नेपालमै अग्लो दाबी गरिएको शिवको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मूर्ति निर्माणको काम ४५ प्रतिशत सकिएको छ ।

४० करोड रुपैयाँको लागतमा निर्माणाधीन मूर्तिले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ ।

पुम्दीकोटकोट विकास समितिले मन्दिर निर्माणको काम तीव्रगतिमा गरिरहेको छ । भवन निर्माण र मूर्ति जडानको काम चलिरहेको छ । ५२ फिट अग्लो शिवजीको बसेको मूर्ति राख्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धन र विकासका लागि नेपालका १०० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । त्यसैमा परेको पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा स्थापित तथा पर्यटन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै त्यसलाई पर्यटकीय तथा धार्मिक क्षेत्र बनाउन स्थानीयहरु उत्साही भएका छन् ।

पुम्दीकोटबाट पोखरा उपत्यकासहित हिमशृंखला, फेवाताल एकै नजरबाट अवलोकन गर्न सकिने पुम्दीमकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन पर्यटन समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिनुभयो ।

पोखराबाट करिब २० मिनेटको सवारी–साधनमार्फत् पुग्न सकिने यो ठाउँमा भगवान् शिवको मूर्तिसँगै हिमशृंखला, सूर्योदय, स्याङ्जा, पर्वत र फेवातालसँगै पोखरा बजारलाई नियाल्न सकिन्छ ।

मूर्ति निर्माणमा केन्द्र सरकार, प्रदेश सरकार र पोखरा महानगरसमेत विभिन्न व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् ।

मूर्ति निर्माणका लागि २०७३ सालमा महायज्ञ लगाएर छ करोडभन्दा बढी नगद र जग्गा प्राप्त गरेको थियो ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार पहिलो चरणमा मूर्तिसहित गणेशले परिक्रमा गरिरहेको १०८ शिवलिंग, १०८ स्वर्गद्वारी सिंढी, सुमेरु पर्वतलगायत निर्माण हुनेछ ।

दोस्रो चरणमा गुरु महाराज आश्रम, हरियाली बगैंचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायत संरचना निर्माण गर्ने योजना छ ।

मूर्ति बनेपछि महत्वपूर्ण गन्तव्य थपिने विश्वास स्थानीयले लिएका छन् ।

पुम्दीकोटबाट फेवातालसहित पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृंखला एकसाथ देख्न सकिन्छ ।

समुद्र सतहदेखि झन्डै एक हजार ५०० मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृश्यावलोकनका लागि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा भ्यूटावरसमेत निर्माण गरिएको छ ।

भिडियो हेर्नुहोस्