
काठमाडौं, मंसिर २ । सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)भित्र ओली र दाहाल–नेपाल खेमा आ–आफ्नो अडानमा टसमस नदेखिएपछि कमिटीगत छलफल नै अन्योल बनेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा आदानप्रदान पत्र र प्रस्तुत प्रस्तावले पार्टीभित्र आन्तरिक कलहले उग्ररुप लिएको छ भने पार्टी नै गम्भीर दुर्घटनातर्फ धकेलिएको छ ।
कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको प्रस्तावपत्रमा ओली सरकार संघीयता र गणतन्त्र समाप्तीको दिशामा रहेको भन्दै ओली प्रवृत्ति पार्टीको विधि र पद्धतिका लागि घातक साबित भएको उल्लेख गर्नुभयो ।
उक्त प्रस्तावलाई लिएर नेकपा नेताहरुबीच सार्वजनिकरुपमै आरोप–प्रत्यारोप चर्केको छ ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन भनिएको पत्रलाई एकलरूपमा आएकाले फिर्ता नलिँदासम्म बैठकको वातावरण नबन्ने ओली पक्षको अडान छ ।
त्यसो त भदौ २६ गते नेकपा स्थायी कमिटी बैठकले गरेको निर्णयको आधारमा जारी गरिएको १६ बुँदे पाँचौं अन्तरपार्टी निर्देशनमा अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय र अन्य कमिटीका कार्यसूची तयार गर्ने र बैठक बोलाउने प्रावधान छ ।
तर, अध्यक्ष दाहालबाट एकलरुपमा आएको आरोपपत्र व्यक्तिगत लाञ्छनाप्रेरित रहेकाले फिर्ता नलिए पार्टी नै दुर्घटनामा जाने बताउनुहुन्छ, नेकपा केन्द्रीय कमिटी सदस्य विशाल भट्टराई ।
तर, दाहाल पक्ष भने राजनीतिक प्रतिवेदन नेताहरुको सामूहिक समर्थनमा प्रस्तुत भएकाले उक्त प्रस्तावमाथि बैठकमै छलफल गर्नुपर्ने अडानमा कस्सिएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी तथा सरकार सञ्चालनमा असफल भएको निष्कर्ष निकालेको दाहाल पक्ष कुनैपनि हालतमा पछि नहट्ने अडानमा देखिन्छ ।
दाहालको प्रस्तावमा प्रवेश पाएका विषयहरु विभिन्न तहबाट अनुमोदन हुँदै सचिवालयमा प्रस्तुत भएकाले त्यसलाई सामना गर्नुको विकल्प नरहेको बताउनुहुन्छ, केन्द्रीय कमिटी सदस्य ठाकुर गैरे ।
पार्टीभित्रको विवादले उग्र रुप लिएसँगै बैठकको पूर्वाद्धमा नेताहरु आ–आफ्नो पक्षमा मत बलियो पार्न बालुवाटार र खुमलटारका भेटघाटहरु तीव्र पारेका छन् ।
नेकपा सचिवालयको अर्को बैठक मंसिर ३ गतेका लागि तय भएपनि दुवै पक्ष आफ्नै अडानमा इतर पक्षलाई घुँडा टेकाउन कस्सिँदा दुवै पक्ष सजिलै पछि हट्ने देखिँदैन ।
यसले एकातिर सचिवालय बैठक नै अन्योलग्रस्त बन्ने खतरा छ भने अर्कातिर सर्दै आएको केन्द्रीय कमिटी बैठक पनि अनिश्चित बन्ने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्