
चितवन । चितवनका चेपाङहरुको स्वास्थ्यप्रति चासो बढ्दै गएको छ । बिरामी हुँदा धामी झाँक्रीको भरपर्ने चेपाङहरुलाई अहिले भने स्वास्थ्य संस्थामै गएर उपचार गराउन थालेका छन् ।
बिरामी पर्दा धामी झांक्रीकोमा धाउने चितवनको इच्छा गाउँपालिकाका चेपाङहरुको स्वास्थ्य दैनिकी आजकाल फेरिएको हो ।
अहिले उनीहरु अस्वस्थ्य हुनु अगाबै स्वास्थ्यको ख्याल त गर्छन नै, यदि बिरामी परी हालेपनि स्वास्थ्य संस्थामा तुरुन्तै पुग्छन् ।
सर्पले टोक्दासमेत धामीझांक्री र झारफुकमै विश्वास गर्ने उनीहरुको दैनिकी एकाएक फेरिएको हो ।
त्यसो त चेपाङ समूदायका गर्भवति महिलाहरुसमेत नियमित स्वास्थ्य जाँच त गराउँछन नै कसरी सुरक्षित रुपमा बच्चा जन्माउने भन्नेमा निकै चासो राख्न थालेका छन् ।
सरसफाई देखि गर्भवती जाँचमा चेपाङहरुको चेतना बढ्दै गएको छ भने समूदायभित्रको बढ्दो बालबिवाह पनि बिस्तारै घट्दो गएको छ ।
सपना भिलेज परियोजना सुरु हुनुअघि यस समूदायभित्र त्यति चेतना जागेको देखिदैन् ।
परिवर्तन सम्भव छ र सपनाको सुरुवात एक सपनाबाट हुन्छ भन्दै सुरु भएको अभियानले अहिले यस चेपाङबस्तीको मुहार नै फिरेको परियोजनाका निर्देशक सुजन बस्नेतको भनाई छ ।
अहिले त्यहाँका चेपाङहरुको सामाजिक, मानसिक, शैक्षिक परिवर्तन हुँदै गएको छ ।
घर वरपर सफासुग्गर राख्ने, शौचालय बनाउने, बालवालिकालाई विद्यालय पठाउने र सामाजिक काममा निकै सरीक हुन थालेका छन् यहाँका चेपाङहरु ।
गाउँपालिकाले पनि यस समुदायको विगतलाई परिवर्तन गराउन काम गरिरहेको गाउँपालिका अध्यक्ष गितादेवी गुरुङ बताउनुहुन्छ ।
अहिले यस समूदायमा आएको परिवर्तनले समाज रुपान्तरण गर्न सकिन्छ भन्ने लागेको उहाँको बुझाई छ ।
शैक्षिक, सामाजिक चेतनासंगै उनीहरुको आर्थिक अवस्था उकास्न आयमुलक कार्यक्रमहरुमा जोड् दिनुपर्ने सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीको भनाई छ ।
६ महिना सहकाल ६ महिना अनिकालको जीवनबाट मुक्त हुन आतुर चेपाङहरुले खानेपानीको समस्या समाधान र बाह्रे महिनानै सडक संचालन र भोकभोकै बस्नु पर्ने अवस्थाको अन्त्यको माग गरेकाछन् ।
प्रतिक्रिया दिनुहोस्