२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पार्टी विवाद मिलाउन राजदूतको सक्रियताप्रति परराष्ट्रविद्हरुको आपत्ति


0
Shares

PM Kp oli and chinese embassador hou yanqi

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता फेरि देखिएको छ । राजदूत यान्छीकै सक्रियताले नेकपाभित्र देखिएको यसअघिका विवाद साम्य भएका थिए ।

सत्तारुढ पार्टीमा चर्किएको विवाद पार्टी विभाजनोन्मुख भइरहेको बेला राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्नुभएको छ ।

तर, एउटा पार्टीभित्रको विवाद मिलाउन राजदूतको सक्रियताप्रति भने कूटनीतिज्ञहरुले आपत्ति जनाएका छन् ।

नेकपाको आन्तरिक किचलो उत्कर्षमा पुगेसँगै विगतमा जस्तै विवाद मिलाउने नाममा यसपटक पनि राजदूत यान्छीमार्फत् चिनियाँ चासो अभिव्यक्त भएको छ ।

यसअघिका विवादमा देखाएको सक्रियताजस्तै राजदूत यान्छीले मंगलबार राति करिब साढे एक घन्टा प्रधानमन्त्री ओलीसँग बालुवाटारमा संवाद गर्नुभएको छ ।

आन्तरिक पार्टी विवादमा विदेशी कूटनीतिज्ञको सक्रियताप्रति परराष्ट्रविद्हरुले आपत्ति जनाएका छन् ।

परराष्ट्रविद् डा. दिनेशचन्द्र भट्टराईले आन्तरिक विवादमा विदेशी हस्तक्षेप मुलुकको हितमा नभएको टिप्पणी गर्नुभयो ।

गत वैशाख र असारमा झन्डै विभाजनको विन्दुमा पुगेको नेकपाको विवाद मिलाउन राजदूत यान्छी सक्रिय हुनुभएको थियो ।

गत वैशाख १७ गते सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका बहुमत सदस्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

लगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग छुट्टा–छुट्टै भेटवार्ता गरेर विवाद मिलाउन सक्रिय हुनुभयो ।

राजदूत यान्छीको सक्रियतासँगै नेकपाभित्रको विवाद नाटकीय ढंगले मत्थर भएपनि त्यो लामो समय टिक्न सकेन ।

असार १६ गते पुनः अध्यक्ष दाहालसहितका नेताहरुले प्रधानमन्त्री ओलीको राजनीनामा मागेपछि पुनः विवाद उत्कर्षमा पुग्यो । फेरि राजदूत यान्छीको सक्रियता बढ्यो ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले शासकहरुले परराष्ट्र नीति र सम्बन्धलाई देशको हितमा भन्दा सत्तास्वार्थमा जोड्ने प्रवृत्ति नै मुलुकको लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो ।

विगतमा दक्षिण छिमेकी भारतले नेपालको सत्तामा सूक्ष्म व्यवस्थापन गर्ने गरेको भन्दै आलोचना हुने गरेको थियो ।

तर, २०७४ सालको चुनावपछि उत्तरी छिमेकी चीनले पनि सूक्ष्म व्यवस्थापनमा हात हाल्न थालेको टिप्पणी हुने गरेको छ ।

परराष्ट्रविद् भट्टराई जोसुकैले आन्तरिक हस्तक्षेप गरेपनि मुलुकको हितमा नरहेको बताउनुहुन्छ ।

चिनियाँ राजदूतको पछिल्लो सक्रियताले नेकपाभित्रको पछिल्लो विवाद पनि समाधानोन्मुख हुने संकेत देखिएको छ ।

एकार्कालाई स्वीकार गर्न नसक्ने स्थितिमा पुगेका अध्यक्षद्वय ओली र दाहाल संवाद गर्ने अवस्थामा पुग्नुभएको छ ।

चिनियाँ राजदूत यान्छी नेकपाको संकटमोचकको भूमिकामा देखिएपनि उहाँको गैरकूटनीतिक सक्रियताको भने आलोचना भएको छ ।