
काठमाडौं, मंसिर ३ । चिसो मौसम सुरु भएसँगै कोरोना संक्रमणको जोखिम झन् बढ्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् ।
जाडो महिनामा कोरोनाको भाइरस सक्रिय हुने र भाइरसको ‘लोड’समेत बढ्ने भन्दै उनीहरुले सचेत गराएका हुन् ।
पशुपति विकास कोषमा कार्यरत् ५६ वर्षीय गोविन्दप्रसाद आचार्यको कोरोना जितेको २६ दिनको दिन निमोनियाका कारण मृत्यु भयो ।
कात्तिक ११ गते संक्रमणमुक्त भएका उहाँमा निमोनियाको समस्या देखिएको थियो । आचार्यको उपचारका क्रममा मंसिर २ गते मृत्यु भयो ।
कात्तिक १ गते भाइटीकाको दिन सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलालाई राति १० बजे फोन आयो । ४० देखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा कोरोनाको लक्षणसमेत भएको तर अस्पताल ल्याउन एम्बुलेन्स नपाएको भन्दै खबर आयो ।
‘पीसीआर’ परीक्षण नगरेको तर स्वास्थ्य अवस्था निकै सिकिस्त रहेकाले अस्पताल कसरी ल्याउनु भनेर फोन गरेकालाई डा. बास्तोलाले कुनै सवारी–साधन प्रयोग गरेर अस्पताल ल्याउन भन्नुुभयो । त्यसको डेढ घन्टापछि पुनः फोन आयो, बिरामीको मृत्यु भयो भनेर ।
कोरोनाको लक्षण देखिएको भएपनि परीक्षण नगर्ने र बेवास्ता गर्ने हुँदा यस्ता समस्या देखिएको डा. बास्तोला बताउनुहुन्छ ।
लक्षण देखिएका संक्रमितले लापरबाही गर्दा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
हाल संक्रमण जितेका मध्यम र जटिल समस्या देखिएका बिरामीमा पनि विभिन्न समस्या देखिन थालेको छ ।
लक्षण देखिएका र दीर्घरोगी, ज्येष्ठ नागरिकहरुमा संक्रमण जितेपछि पनि लामो समयसम्म लक्षण देखिन सक्ने डा. बास्तोला बताउनुहुन्छ ।
अहिले चिसो मौसम छ । चिसो मौसममा भाइरस फैलन सक्ने जोखिम समेत उच्च रहन्छ ।
यो मौसममा भाइरस लामो समयसम्म रहने हुँदा थप सचेतता अपनाउन डा. बास्तोला आग्रह गर्नुहुन्छ ।
संक्रमणको दर उकालो लागिरहेको समयमा लक्षणसहितका संक्रमित देखिनुले थप चुनौती थपेको छ । झन् कोरोनाको लक्षण देखिएका व्यक्तिलेसमेत परीक्षण नै नगराउने लापरबाही बढेका कारण पनि अवस्था झन् झन जटिल बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्