७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


फोहोर नउठाउँदा राजधानी दुर्गन्धले चौपट, महामारी फैलनसक्ने त्रास (भिडियो)


0
Shares

मीरा बस्नेत/राजेन्द्र नापित (इमेज)

काठमाडौं, साउन ३ । केही दिनयता राजधानी यति दुर्गन्धित बनेको छ कि नाक नथुनी हिँड्नै नसकिने अवस्था आएको छ । वर्षायाममा चोकचोकमा फोहोरको थुप्रिँदा महामारी फैलने खतरासमेत बढाएको छ ।

तर, जिम्मेवार निकाय काठमाडौं महानगरपालिका भने विभिन्न बहाना बनाउँदै फोहोर उठाउनबाट पन्छिने गरेको छ ।

काठमाडौंको कुलेश्वर । विगत दुई हप्ताभन्दा बढी समयदेखि यहाँको फोहोर उठाइएको छैन । यो त राजधानीका सडकमा थुप्रिएको फोहोरको एउटा उदाहरणमात्र हो । यस्तो फोहोरको थुप्रो सयौं स्थानमा देख्न सकिन्छ ।

फोहोरको थुप्रोमाथि र सडकका पोलहरुमा सरकारलाई व्यंग्य गर्दै प्लेकार्ड र पर्चाहरु पनि राख्ने गरिएको छ । उपत्यकावासीले यो समस्या लामो समयदेखि भोग्दै आइरहेका छन् ।

दुईतिहाइ बहुमत भएको बलियो र स्थीर सरकार आएपछि पनि सर्वसाधरणले उही नियति भोग्नुपर्ने अवस्थाचाहिँ विडम्बनापूर्ण हो ।

फोहोरको थुप्रोबाट आउने दुर्गन्धले स्थानीयवासी र पैदलयात्रीलाई सास्ती दिएको छ नै गाडी चढ्नेहरु पनि गर्मीमा झ्याल थुनेर हिँड्न बाध्य छन् ।

फोहोरको दुर्गन्ध चारैतर्फ बढेकाले कति बेला महामारी फैलने हो भन्ने त्रास स्थानीयमा छ ।

दुईतिहाइको सरकारले फोहोरमा पनि राजनीति गरेको आरोप पनि स्थानीयले लगाइरहेका छन् ।

सडकमा फोहोर थुप्रिन नदिन आफैं पनि सचेत हुनुपर्ने र यस्तो समस्या नदोहोरिने गरी सबै पक्षले समाधान खोज्नुपर्ने स्थानीय बताउँछन् ।

काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञावलीले नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट भरिएको र ल्यान्डफिल्ड साइटसम्म फोहोरका गाडीहरु जानसक्ने अवस्था नहुँदा काठमाडौंमा फोहोर थुप्रिएको बताए ।

उपत्यकावासीले फोहोर नउठ्ने समस्या भोग्न थालेको वर्षाैं भइसक्यो । कहिले कुन बहाना त कहिले कुन बहानामा बेलाबेलामा सडकमा फोहोरको थुप्रो लाग्ने गरेको छ ।

भिडियो हेर्नुहोस्