१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार महिनामा सरकारको पुँजीगत खर्च निराशाजनक


0
Shares

financial controller and financial discipline

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको राजस्व आम्दानी सन्तोषजनक भएपनि पुँजीगत खर्च भने निराशाजनक भएको छ  ।

पहिलो चौमासमा सरकारको राजस्व आम्दानी लक्ष्यनजिक देखिएको छ भने विकास खर्च लक्ष्यको एकतिहाइ मात्रै पूरा भएको छ ।

कात्तिक मसान्तसम्ममा सरकारले कुल २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो चौमासिक लक्ष्यको करिब ९१ प्रतिशत हो । चार महिनामा संकलित राजस्व वार्षिक लक्ष्यको २३ दशमलव ७४ प्रतिशत हो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व संकलनमा एक दशमलव ४६ प्रतिशतले मात्र सुधार भएको छ । गत आर्थिक वर्षको २०७६-०७७ को पहिलो चौमासमा सरकारले २ खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यो राजस्व संकलन गत आर्थिक वर्षमा सरकारले लिएको वार्षिक लक्ष्यको २२ दशमलव २८ प्रतिशत थियो । यो चार महिनामा सरकारले २९ अर्ब ४४ करोड रुपैयाँ विकास खर्च गरेको छ ।

यो चौमासिक लक्ष्यको करिब ३० प्रतिशत मात्रै हो । यस अवधिमा भएको विकास खर्च वार्षिक लक्ष्यको ८ दशमलव ३४ प्रतिशत हो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा सरकारले २ दशमलव २५ प्रतिशतले विकास खर्च बढाएको छ । गत आर्थिक वर्ष २०७६-०७७ को पहिलो चौमासमा सरकारले २४ अर्ब ८३ करोड रुपैयाँ विकास खर्च गरेको थियो ।

सरकारलाई आम्दनी र खर्चमा सन्तुलन मिलाउन समस्या भएको छ । कोरोनाका कारण उत्पन्न परिस्थितिका कारण राजस्व आम्दानी लक्ष्यअनुसार उठ्न सकेको छैन ।

तर, चालू खर्च भने नियमित भइरहेको छ । चालू आर्थिक वर्षको पहिलो चौमाससम्ममा सरकारको कुल प्राप्ति र कुल खर्च झन्डै–झन्डै बराबर देखिएको छ ।

कात्तिक मसान्तसम्ममा सरकारले कुल २ खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ प्राप्ति गरेको छ । यस अवधिमा सरकारको कुल खर्च २ खर्ब ६९ अर्ब ७ करोड भएको छ  ।

यसमध्ये चालू खर्च २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ रहेको छ  । कुल खर्चको तुलनामा कुल आम्दानी ६१ करोड रुपैयाँले मात्रै बढी छ ।

त्यस्तै, चालू खर्चको तुलनामा राजस्व आम्दानी १० अर्बले मात्रै बढी रहेको छ ।