१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव जलाएर अन्त्येष्टि


0
Shares

corona

कैलाली, मंसिर ४ । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन भएसँगै नेपाली सेनाले मृतकका परिवारको उपस्थितिमा धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न थालेको छ ।

विगतमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव सेनाले खाल्टो खनेर गाड्ने गरेको थियो ।

सुरुआती दिनमा परिवारका सदस्य दाहसंस्कारमा सहभागीसमेत हुन पाउँदैनथे ।

तर, कार्यविधि संशोधन भएसँगै मृतकका परिवारजनकै उपस्थितिमा शव जलाएर दाहसंस्कार गर्न थालिएको छ ।

सेती प्रादेशिक अस्पतालमा बुधबार राति मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–४, स्मृतिटोलका ७३ वर्षीय शेरबहादुर महराको बिहीबार दिउँसो गोदावरी–२ स्थित आर्यघाटमा धार्मिक संस्कारअनुसार जलाएर अन्त्येष्टि गरिएको छ ।

मृतकका परिवारजनले नै शवमा मुखाग्नी दिएका थिए ।

नेपाली सेनाको भवानी दल गण, तघेरीका सहसेनानी नवलसिंह रोकायाको नेतृत्वको टोलीले महराको अन्त्येष्टि गरेको हो ।