
कैलाली, मंसिर ४ । हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको थियो ।
सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निस्किएको जुलुस तथा र्यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो ।
हिन्दुराष्ट्र पुनःस्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत् प्रदर्शन गरिएको आयोजकले बताएको छ ।
अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालोबजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको संयोजक रवीन्द्र कार्कीले जानकारी दिनुभयो ।
धनगढीदेखि अत्तरियासम्म गरिएको प्रदर्शनमा १०० ओटा चारपांग्रे सवारीसाधनसहित तीन हजार मोटरसाइकलमा प्रदर्शनकारी सहभागी भएको समाजका प्रवक्ता अशोक मल्लले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको र्यालीमा सहभागिता रहेको उहाँको भनाइ छ ।
पार्टीको समर्थन र विरोधमा नभइ स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान चलाइएको उहाँले बताउनुभयो ।




प्रतिक्रिया दिनुहोस्