
काठमाडौं, मंसिर ४ । मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ ।
यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्तिअनुकूल बनाउने नीतिअनुसार यातायात सेवाको नियमनका लागि ओटीएमएस लागू गरिएको हो ।
सरकारले कोरोनाको जोखिम न्यूनीकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद–बिक्री निर्देशिका लागू गरिसकेको छ ।
बिहीबार अनलाइन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सावजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी एवं सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानुन निर्माणमा लागिरहेको बताउनुभयो ।
उहाँले एकीकृत प्रक्रिया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएकोसमेत बताउनुभयो ।
ओटीएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरुले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तर्गतका निकायहरुलाई थप सहज हुने विश्वास लिइएको छ ।
ओटीएमएसले लगानीकर्ताहरुको सञ्चालन खर्च घटाइ मुनाफा वृद्धि गराउनुका साथै टिकट खरिद–बिक्री प्रक्रियामा बिचौलियाहरुलाई पूर्णरुपमा निषेध गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्